अर्थतन्त्र शिथिलताको असर निर्जीवन बीमा व्यवसायमा, बीमा शुल्क घट्यो ६२ करोड

काठमाडौं । अर्थतन्त्रमा दखिएको शिथिलताको असर बीमा व्यवसायमा देखिएको छ । बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पहिलो चैमासिकमा निर्जीवन बीमा व्यवसायमा भारी गिरावट आएको हो ।
चालु आवको कात्तिक मसान्तसम्म निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन ४.७० प्रतिशतले घटेको छ ।

गत वर्षको सोही अवधिमा १३ अर्ब ३५ करोड रुपैयाँले बीमा व्यवसाय गरेका कम्पनीहरुले यस वर्षको चार महिनामा १२ अर्ब ७३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यो गत वर्षकोभन्दा ६२ करोड ८१ लाख रुपैयाँले न्यून हो । यस अवधिमा निर्जीवन बीमा कम्पनीको बीमालेखमा पनि गिरावट आएको छ ।

कम्पनीहरुले चालु वर्षको कात्तिकसम्म ८ लाख ९४ हजार कुल बीमालेख जारी गरेका छन् । यो गत वर्षको सोही अवधिकोभन्दा २.६८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा कम्पनीहरुले ९ लाख १९ हजार बीमा लेख जारी गरेका थिए ।

चालु आर्थिक वर्षको कात्तिकसम्म निर्जीवन बीमा कम्पनीको व्यवसाय रु लाखमा
निर्जीवन बीमा कम्पनी २०८० कात्तिक २०७९ कात्तिक फरक %
नेपाल इन्स्योरेन्स कम्पनी 4,961.97 5,533.78 -10.33
दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी 5,899.00 5,029.53 17.29
नेशनल इन्स्योरेन्स कम्पनी 4,317.48 3,716.47 16.17
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी 11,336.11 9,096.43 24.62
युनाईटेड अजोड इन्स्योरेन्स 8,683.00 10,185.93 -14.75
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) 13,338.25 16,401.86 -18.68
नेको इन्सुरेन्स 10,594.54 10,426.01 1.62
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी 16,053.66 17,343.23 -7.44
प्रभु इन्स्योरेन्स 7,061.00 4,892.50 44.32
शिखर इन्स्योरेन्स कम्पनी 12,735.87 12,703.77 0.25
एनएलजी इन्स्योरेन्स 8,362.43 7,807.43 7.11
राष्ट्रिय बीमा कम्पनी 5,855.28 13,111.31 -55.34
सानिमा जिआइसि इन्सुरेन्स 7,167.79 6,831.03 4.93
आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स 10,937.74 10,506.52 4.10
जम्मा/औसत 127,304.12 133,585.80 -4.70

गत वर्षदेखि आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा व्यापार व्यवसाय बढ्न सकेको छैन । जसको कारण समग्र वित्तीय प्रणाली खल्बलिएको छ । उच्च ब्याजदर, आयस्रोतको घट्नु, महंगी बढ्नु जस्ता कारणले उपभोक्ताको खर्च गर्ने क्षमतामा ह्रास आएको छ । सोही कारण बीमा व्यवसायमा समेत धक्का लागेको देखिन्छ ।

१४ वटा निर्जीवन बीमा कम्पनी मध्ये ९ वटाको व्यवसाय वृद्धि भएको छ भने पाँचको घटेको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै प्रभु इन्स्योरेन्स कम्पनीले ४४.३२ प्रतिशतले व्यवसाय विस्तार गरेको छ ।
हिमालयन एभरेष्ट १४ प्रतिशत, ओरिअन्टल १७, नेशनल इन्स्योरेन्स कम्पनीले १५ प्रतिशतले व्यवसाय बढाएका छन् ।

सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको व्यवसायमा ५५.३४ प्रतिशतले व्यवसायमा गिरावट आएको छ । सिद्धार्थ प्रिमियरको १८ र युनाइटेड अजोडको १४ प्रतिशतले व्यवसाय घटेको छ ।

यो अवधिमा सबैभन्दा धेरै सलिको इन्स्योरेन्सले १ अर्ब ६० करोड रुपैयाँको बीमा शुल्क संकलन गरेको छ भने न्यून नेशनल इन्स्योरेन्स कम्पनीले ४३ करोड १७ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।

शौर्य सिमेन्टले सुरु गर्‍यो क्लिंकर भारत निर्यात Read Previous

शौर्य सिमेन्टले सुरु गर्‍यो क्लिंकर भारत निर्यात

चीनले जारी गर्‍यो कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरको सूची  Read Next

चीनले जारी गर्‍यो कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरको सूची