काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । सोमबार इतिहासकै सर्वाधिक मूल्यको कीर्तिमान बनाएर प्रतितोल १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्य आज एकैदिन २४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा झरेको छ ।
महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि प्रतितोला २३५० रुपैयाँ घटेर १ लाख १८ हजार ६५० रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ५० डलर घटेर २ हजार ३० अमेरिकी डलरमा झरेको छ ।
अन्य समयको तुलनामा विहेको सिजनमा सुनको खपत बढ्ने भए पनि अचाक्ली मूल्यवृद्धिले खपत बढ्न नसुकेको व्यापारीहरु बताउँछन् ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ घटेर १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।