मुग्लिन-पोखरा सडक : पूर्वीखण्डमा ९ किमी एकतर्फी कालोपत्र सकियाे, पश्चिमखण्डको सुस्त

फाइल तस्वीर । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नालामा सडक कालोपत्र गरिँदै ।

दमौली । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको ९ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी र बन्दीपुरमा ९ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको हो ।

पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कनेसम्म ५.५ किलोमिटर र आँबुखैरेनी गाउँपालिका–१ बरादीमा ३.५ किलोमिटर खण्ड कालोपत्र सकिएको छ । पाण्डेले भने, ‘दुई ठाउँमा एकतर्फी रुपमा ९ किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।’

सडक आयोजनाले गत असारमा आँबुखैरेनीको बरादीमा सडक कालोपत्र गरेको हो भने नाहाला खण्डमा तिहारका बेला कालोपत्रको काम सकेको हो । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको दूरी ४१.४५ किमी रहेको छ ।

आँबुखैरेनीको मार्कीचोकदेखि बरादीसम्मको खण्डमा कालोपत्रको काम थालिएको छ । पाण्डेका अनुसार पहिला कालोपत्र भइसकेको बरादीसम्म मार्कीचोकदेखि कालोपत्र जोड्न काम थालिएको हो । उनले भने, ‘यस अगाडि बरादीमा कालोपत्र भएको ठाउँमा जोड्ने गरी मार्कीचोकदेखि काम सुरु भएको छ । सवारी साधनको आगमनलाई ध्यानमा राखेर अहिले एकतर्फी मात्रै कामहरु भइरहेको छ ।’

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको पाण्डेको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणले पनि गति लिएको छ । यो खण्डमा हालसम्म ३८ प्रतिशत काम सकिएको छ ।

राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घर तथा टहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा ६३१ घरटहरा भत्काइनेछ । त्यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । कूल ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म छ । पश्चिम खण्डको काम भने सुस्त छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

सुनको मूल्य वृद्धिमा ब्रेक, एकैदिन तोलामा २४०० रुपैयाँ घट्यो Read Previous

सुनको मूल्य वृद्धिमा ब्रेक, एकैदिन तोलामा २४०० रुपैयाँ घट्यो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको माग गर्दै काठमाडौं आए व्यवसायी Read Next

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको माग गर्दै काठमाडौं आए व्यवसायी