काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सम्पर्कमा आउन ७ दिने अल्टिमेटम दिएको छ ।
आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले लामो समयदेखि बुझाउनुपर्ने वित्तीय विवरण र रोयल्टी नबुझाउने ३० वटा दूरसञ्चार कम्पनीलाई ७ दिन भित्र सम्पर्कमा आउन निर्देशन दिएको हो । यसअघि पटकपटक पत्राचार गर्दा पनि ती कम्पनीहरु सम्पर्कमा नआएको प्राधिकरणले बताएको छ ।
‘नियमानुसार बुझाउनु पर्न अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको र बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक-पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेकोले हुँदा यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नको लागि यसै सूचनामार्फत् जानकारी गराइन्छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ।
अबकाे ७ दिन भित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी समेत दिएको छ ।
