झन्झन् महँगो बन्दै ठूला सहरको बसाइँ, यी हुन् विश्वका १० महँगा सहर

काठमाडौं । विश्वका ठूला सहरहरूमा जीवनयापन गर्दा लाग्ने खर्च (कस्ट अफ लिभिङ) बढ्दै गएको छ । सन् २०२३ मा यस्तो लागत साढे ७ प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआइयू)ले गरेको सर्भे अनुसार सन् २०२३ मा विश्वका मुख्य सहरहरूमा ‘कस्ट अफ लिभिङ’ ७.४ प्रतिशतले बढेको छ । यद्यपि, सन् २०२२ को तुलनामा भने ०.७ प्रतिशत विन्दुले घटेको छ । गत वर्ष ८.१ प्रतिशतले बढेको थियो ।

सन् २०२३ मा अन्तर्राष्ट्रिय बजारमा आपूर्ति श्रृङ्खलामा आएको अवरोध र बढ्दो ब्याजदरले ‘कस्ट अफ लिभिङ’ बढाएको ईआइयूको प्रतिवेदनमा उल्लेख छ ।

कोरोना महामारीका कारण अवरुद्ध भएको ‘सप्लाइ चेन’मा सहजता आएको छ । तर, दैनिक उपभोग्य सामानको मूल्यवृद्धि अधिक बढिरहेकाले उपभोक्ताले महँगी सामना गरिरहनु परेको प्रतिवेदनमा उल्लेख छ ।

विश्वका अधिकांश देशले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाएका थिए । जसले पनि जीवनयापन लागत बढाउन भूमिका खेलेको छ ।

आगामी वर्ष सन् २०२४ मा भने मुद्रास्फीति घट्ने अपेक्षा गरिएको छ । तर, ऊर्जा र खाद्यन्नको मूल्य भने झनै बढ्ने ईआइयूले जनाएको छ । यसले सहरको बसाइँ लागत अझै बढ्ने छ ।

ईआइयूले विश्वभरका १७३ सहरहरूमा २०० भन्दा बढी वस्तु र सेवाहरूको मूल्यहरू ट्र्याक गरेर कस्ट अफ लिभिङ निकाल्ने गर्छ ।

यी हुन् विश्वका १० महँगा सहर

सन् २०२३ मा स्वीटजरल्याण्डको जुरिच र सिंगापुर विश्वकै महँगा सहर बनेका छन् । गत वर्ष ७ औं नम्बरमा रहेको जुरिच स्वीस फ्रान्कको बढ्दो प्रभावले विश्वकै महँगो सहर बनेको हो । सिंगापुर भने गत वर्ष जस्तै पहिलो स्थानमै रहेको छ । महँगो यातायात र कपडाको लागतले सिङ्गापुर महँगो बनाएको रिपोर्टमा उल्लेख छ ।

यस्तै, गत वर्ष पहिलो स्थानमा रहेको न्यूयोर्कयो वर्ष विश्वको तेस्रो महँगो सहर बनेको छ भने जेनेभा चौथो महँगो सहर बनेको छ ।

त्यसैगरी, क्रमशः हङकङ, लस एनजसल, पेरिस, तेल अभिभ र कोपेनहेगन र सान फ्रान्सिसको विश्व १० महँगा सहरमा परेका छन् ।

३० दूरसञ्चार प्रदायकलाई सम्पर्कमा आउन ७ दिने अल्टिमेटम, नआए लाइसेन्स खारेजी Read Previous

३० दूरसञ्चार प्रदायकलाई सम्पर्कमा आउन ७ दिने अल्टिमेटम, नआए लाइसेन्स खारेजी

पोखरा-नारायणगढको दुरी २३ किमी छोट्याउने 'घुमाउने पुल' निर्माण पुनः थालियो Read Next

पोखरा-नारायणगढको दुरी २३ किमी छोट्याउने 'घुमाउने पुल' निर्माण पुनः थालियो