चिनी ल्याउन सरकारले पाएन आपूर्तिकर्ता, फेरि टेन्डर आह्वान गर्दै

काठमाडौं । बजारमा चिनी अभाव भएको ३ महिना बितिसक्यो । सरकारले दशैं अघि नै भारतबाट चिनी ल्याएर सहज उपलब्ध गराउने बताएको थियो । तर, तिहार सकिँदासम्म सरकारले ल्याउने चिनी कहिले आउँछ टुंगो छैन ।

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले १० हजार टन चिनी आयातका लागि गत असोज १० गते ठेक्का आह्वान गरेको थियो । बोलपत्र पेश गर्ने अन्तिम दिन मंसिर १ गतेसम्म कुनै आवेदन नपरेपछि चिनी आयात अनिश्चित भएको हो ।

४५ दिनको समय राख्दै ठेक्का आह्वान गरे पनि चिनी आयात गर्न कसैले चासो नदेखाएको खाद्य व्यवस्थापन कम्पनीले जनाएको छ । कम्पनीकी सूचना अधिकारी सर्मीला सुवेदीले चिनी आयातका लागि कसैले पनि आवेदन नहालेको बताइन् । उनले अब फेरि रिटेन्डर आह्वान गरिने बताइन् ।

‘हामीले १० हजार टन चिनी आयातका लागि दशैंअघि नै टेन्डर आह्वान गरेको थियौं । अन्तिम मितिसम्म कसैको आवेदन परेन,’ उनले चाणक्य पोष्टसँग भनिन्, ‘अब फेरि रिटेन्डर गर्छौं । तयारी हुँदै छ ।’

अब उखु क्रसिङ गर्ने सिजन पनि नजिएकाले बजारमा अभाव हट्दै जाने उनले बताइन् । अहिले खुद्रा बजारमा चिनीको भाउ प्रतिकिलो १२० रुपैयाँदेखि १५० रुपैयाँसम्म छ भने जुनसुकै पसलमा पनि पाउने अवस्था छैन ।

यस्तै, सरकारले साल्ट ट्रेडिङलाई समेत १० हजार टन चिनी आयातको अनुमति दिएको छ । साल्ट ट्रेडिङले बजारमा अभाव हटाउन नेपाली उद्योगहरूबाट ३ हजार मेट्रिकटन चिनी खरिद गरेर सहुलियतमा बिक्री गरिरहेको छ ।

सो चिनी ९७ रुपैयाँमा साल्ट ट्रेडिङले बिक्री गरिरहेको छ । साल्ट ट्रेडिङबाट चिनी किन्ने व्यवसायीले १२० रुपैयाँसम्ममा बिक्री गरिरहेको जनाइएको छ । हाल साल्ट ट्रेडिङसँग १ हजार टन हाराहारी मात्र चिनी मौज्दात रहेको छ ।

सरकारले ५० प्रतिशत भन्सार छुटमा २० हजार क्विन्टल चिनी आयातको अनुमति दिएको छ । जसमा खाद्य र साल्ट ट्रेडिङले १०÷१० हजार टन आयातको अनुमति पाएका छन् ।

देशभर वार्षिक २ लाख ६५ हजार मेट्रिक टनदेखि ३ लाख टन चिनी माग हुँदै आएको छ । सो मध्ये १ लाख मेट्रिक टन चिनी नेपाल उत्पादन हुने गरेको छ भने बाँकी आयातमा निर्भर छ ।

वर्षेनी किसानले उखुको मूल्य समयमा नपाउने र पैसा भुक्तानीका लागि आन्दोलन गर्नुपर्ने बाध्यता भएकाले समेत देशमा उखु खेती घट्दै गएको छ । किसानहरू अन्य बालीमा लागेका छन् । जसले गर्दा वर्षेनी उखुखेती घट्दै गएको किसानहरू बताउँछन् ।

 

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

भोलि उपत्यकाका जुनसुकै ठाउँबाट सवारी डाइभर्सन गरिने, अवस्था बुझेर मात्र निस्कन आग्रह Read Next

भोलि उपत्यकाका जुनसुकै ठाउँबाट सवारी डाइभर्सन गरिने, अवस्था बुझेर मात्र निस्कन आग्रह