काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्सको खुद नाफामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १०.२५ प्रतिशतले बढेको छ ।
कम्पनीले असोज मसान्तसम्म १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीको लगानी ५.३९ प्रतिशतले बढेको छ । असोज मसान्तसम्म कम्पनीले १७९ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ ।
प्रकाशित विवरण अनुसार कम्पनीको भुक्तानी हुन बाँकी दाबी उलेख्य रूपमा घटेको छ । गत आर्थिक वर्षको अन्त्यमा करिब १ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दाबी वापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९.३५ प्रतिशतले घटी ८३.९१ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले सूचना प्रविधिको विकासलाई अंगिकार गर्दै अनलाइन माध्यमबाट नै दाबी भुक्तानी गर्ने प्रणाली कार्यान्वयन ल्याइसकेको छ । आगामी दिनमा दाबी भुक्तानी प्रक्रिया झन् सरल हुन गई ग्राहकहरू लाभान्वित हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।
अहिलेको विषम परिस्थितिमा जीवन बीमा बजारको लिडरको रूपमा आफूलाई स्थापित गराउन सफल यस कम्पनीले असोज मसान्त सम्ममा १० अर्ब ९३ करोड कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ८.७२ प्रतिशतले बढी हो ।
समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ५८ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ । हाल ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७९ करोड रुपैयाँ संचित छ । महाबिपत्ती कोषमा १०२ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको अन्त्य सम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो ।
यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ७.७ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.७२ रुपैयाँ, मूल्य अनुपात आम्दानी ८३.१४ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,३०७ रुपैयाँ रहेको छ ।