डलर संचिति ३१ महिना यताकै धेरै, विदेशी मुद्रा संचिति साढे १६ खर्ब पुग्यो

काठमाडौं । अमेरिकी डलर संचिति साढे २ वर्ष यताकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो महिना (असोजसम्म)को तथ्यांक अनुसार डलर संचिति १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

यो राष्ट्रिय ढुकुटीमा जम्मा भएको ३१ महिना यताकै धेरै डलर हो । यसअघि सन् २०२१ मार्चमा डलर संचिति १२ अर्ब ३६ करोड थियो ।

रेमिट्यान्स आप्रवाहमा वृद्धि, पर्यटकको आवगमन बढ्नु र विदेशी वस्तुको आयात घट्दा डलर संचिति लगातार बढेको हो ।

२०७९ असोजदेखि डलर संचितिमा लगातार सुधार आएको छ । पछिल्लो एक महिनामा मात्रै राष्ट्रिय ढुकुटीबाट ३७ करोड डलर थपिएको ।

डलर संचिति बढेको यो लगातार बाह्रौं महिना हो । राष्ट्रिय ढुकुटीमा चालु आवको साउनमा १२ करोड, भदौमा १६ करोड र असोजमा ३७ करोड डलर थपिएको छ ।

त्यस्तै, गत वर्षको असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड, पुसमा ४८ करोड, माघमा २० करोड, फागुनमा १९ करोड, चैतमा २५ करोड, वैशाखमा २७ करोड, जेठमा ९ करोड र असारमा ४३ करोड डलर थपिएको थियो ।

सरकारले डलर संचिति घटेको भन्दै २०७८ चैतदेखि वर्षदेखि विभिन्न विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, गत पुसदेखि सरकारले आयात खुलाए पनि त्यसका बाबजूद डलर संचितिमा लगातार सुधार आएको हो ।

यस्तै, विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै भएको छ । राष्ट्र बैंकका अनुसार असोजसम्म विदेशी मुद्रा संचिति १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । यसअघि गत भदौमा १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ विदेशी मुद्रा संचित थियो ।

गत असारको तुलनामा असोजमा विदेशी मुद्रा संचिति ६.७ प्रतिशतले बढेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल
राष्ट्र बैंकमा १४३३ अर्ब ३६ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग २०९ अर्ब ७३ करोड रुपैयाँ छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत रहेको छ ।

असोज महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

 

आइएमई पे बन्यो नेपाल सुपर लिगको टिकेटिङ पार्टनर Read Previous

आइएमई पे बन्यो नेपाल सुपर लिगको टिकेटिङ पार्टनर

३० प्रतिशतले बढ्यो रेमिट्यान्स, हरेक महिना सवा खर्ब भित्रिँदै Read Next

३० प्रतिशतले बढ्यो रेमिट्यान्स, हरेक महिना सवा खर्ब भित्रिँदै