काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ३ महिना यताकै सस्तो भएको छ । पछिल्लो दुई साता यता लगातार भाउ घटेपछि विश्व बजारमा कच्चा तेलको मूल्य गत जुलाई यताकै सस्तो भएको हो ।
आयल प्राइस डटकमका अनुसार बिहीबार विश्व बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ७५ देखि ८० डलरसम्म झरेको छ । एक महिना अघि हमास–इजरायल युद्धका कारण कच्चा तेलको भाउ प्रतिब्यारेल ९५ डलरसम्म पुगेको थियो ।
बिहीबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ प्रतिब्यारेल ८०.८ डलरमा कारोबार भइरहेको छ । गत अगस्टमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९४.२१ डलरसम्म पुगेको थियो ।
त्यस्तै, आज ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ प्रतिब्यारेल ७५.७८ डलर र मुर्बान क्रुड आयलको प्रतिब्यारेल ८१.२६ डलरमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय संचार माध्यकका अनुसार चीनको अर्थतन्त्रमा देखिएको अपेक्षित भन्दा न्यून आर्थिक वृद्धिका कारण पछिल्लो समय विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेको हो । चीन विश्वकै धेरै इन्धन खपत गर्ने एक प्रमुख देश हो ।
चीनले प्रशोधित पेट्रोलियम पदार्थको निर्यात कम गरेको छ । चीन सरकारले प्रशोधित पेट्रोलियम पद्धार्थ निर्यातमा कोटा तोकेका छ प्रशोधन उद्योगहरुको नाफाको मार्जिन कम छ । निर्यातका कोटा तोकिएपछि चिनियाँ रिफाइनरीहरुले कच्चा तेलको खपत कम गर्दा विश्व बजारमा आपूर्ति बढेको छ । जसकारण मूल्यमा गिरावट आएको हो ।