काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा व्यवसायमा गिरावट आएको छ । अर्थतन्त्रमा देखिएको शिथिलताको असर निर्जीवन बीमा कम्पनीको व्यवसायमा देखिएको हो ।
चालु वर्षको असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क ४ प्रतिशतले घटेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीहरुले १० अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा कम्पनीहरुले १० अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गत वर्षको पहिलो त्रैमासको तुलनामा कुल बीमा शुल्कमा ३९ करोड ६९ लाख रुपैयाँले गिरावट आउँदा बीमा लेखको संख्या ५ हजारले घटेको छ ।
यो वर्षको असोजसम्म ६ लाख ८४ हजार कुल बीमा लेख जारी गर्दा कम्पनीहरुले गत वर्षको सोही अवधिमा ६ लाख ८९ हजार बीमा लेख जारी गरेका थिए । गत वर्षदेखि आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा व्यापार व्यवसाय बढ्न सकेको छैन । जसको कारण समग्र वित्तीय प्रणाली खल्बलिएको छ । उच्च ब्याजदर, आयस्रोतको घट्नु, महंगी बढ्नु जस्ता कारणले उपभोक्ताको खर्च गर्ने क्षमतामा ह्रास आएको छ । सोही कारण बीमा व्यवसायमा समेत धक्का लागेको देखिन्छ ।
| चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीले संशलन गरेको कुल बीमा शुल्क (रू. लाखमा) | |||
| कम्पनी | २०८० असोज | २०७९ असोज | फरक % |
| नेपाल इन्स्योरेन्स | 3,752.13 | 4,376.53 | -14.27 |
| ओरिअन्टल | 5,259.18 | 3,964.70 | 32.65 |
| राष्ट्रिय बीमा कम्पनी | 5,548.67 | 12,645.18 | -56.12 |
| नेशनल इन्स्योरेन्स | 3,720.21 | 3,283.41 | 13.30 |
| नेको इन्स्योरेन्स | 8,403.95 | 8,284.25 | 1.44 |
| प्रभु इन्स्योरेन्स | 5,658.75 | 4,129.46 | 37.03 |
| शिखर इन्स्योरेन्स | 10,412.97 | 10,200.69 | 2.08 |
| एनइलजी | 6,755.33 | 6,108.67 | 10.59 |
| हिमालयन एभरेष्ट | 9,483.11 | 7,334.72 | 29.29 |
| सानिमा जिआइसी | 5,994.63 | 5,354.60 | 11.95 |
| सिद्धार्थ प्रिमियर | 10,655.47 | 13,347.28 | -20.17 |
| सलिको | 13,176.88 | 13,546.11 | -2.73 |
| आइजिआई प्रुडेन्सीयल | 8,615.85 | 8,008.98 | 7.58 |
| युनाइटेड अजोड | 7,018.36 | 7,839.95 | -10.48 |
| जम्मा | 104,455.49 | 108,424.53 | -3.66 |
१४ वटा निर्जीवन बीमा कम्पनी मध्ये ९ वटाको व्यवसाय वृद्धि भएको छ भने पाँचको घटेको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको ५६ प्रतिशतले व्यवसाय घटेको छ ।
सिद्धार्थ प्रिमियर इस्न्योरेन्सको २० प्रतिशतले व्यवसायमा गिरावट आएको छ । नेपाल इन्स्योरेन्सको १४ प्रतिशतले व्यवसाय घटेको छ । युनाइटेड अजोड १० प्रतिशतले घटेको प्राधिकरणले जनाएको छ ।
सबैभन्दा धेरै बीमा व्यवसाय बढाउनेमा प्रभु इन्स्योरेन्स पहिलो स्थानमा छ । यो कम्पनीले ३७ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । हिमालयन एभरेष्ट २९ र ओरिअन्टल इन्स्योरेन्स कम्पनीले ३२ प्रतिशतले व्यवसाय बढाएको छ ।
यसअवधिमा सबैभन्दा धेरै बीमाशुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ । सिद्धार्थ प्रिमियर १ अर्ब ६ करोड, शिखर १ अर्ब ४ करोड रुपैयाँले बीमा शुल्क आर्जन गरेका छन् । सबैभन्दा कम नेशनल इन्स्योरेन्सले ३७ करोड रुपैयाँले बीमा शुल्क संकलन गरेको छ ।