मर्जरमा गएका बैंकहरूको खराब कर्जा ४ प्रतिशत माथि, किन अचाक्ली बढ्यो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमै ठूला वाणिज्य बैंकको खराब कर्जा ह्वात्तै बढेको छ । बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार मर्जरपछि बनेका आधा दर्जन बैंकको खराब कर्जा ४ प्रतिशत माथि पुगेको हो ।

पछिल्लो एक वर्षमा यी बैंकको निष्कृय कर्जा १ प्रतिशतबाट वृद्धि भएर ५ प्रतिशत नजिक पुगेको वित्तीय विवरणले देखाउँछ । असोज मसान्तसम्म २० वटा वाणिज्य बैंकको खराब कर्जा औसतमा दोब्बर बढीले वृद्धि भएको छ । गत वर्षको असोजसम्म १.६६ प्रतिशत रहेको खराब कर्जा अहिले १.७३ प्रतिशतले बढेर ३.४० प्रतिशत पुगेको छ ।

बैंकहरूको कर्जा असुलीमा समस्या देखिँदा खराब कर्जा वृद्धि भएको र त्यसले नाफा समेत घटाएको बैंकरहरूले बताइरहेका छन् । यो वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकको खुद नाफा १८.६० प्रतिशतले घटेको वित्तीय विवरणले देखाउँछ ।

समग्र बैंकिङ व्यवसायमा गिरावट आउँदा मर्जरमै गएका बैंकहरूको अवस्था भने झन खराब देखिएको छ । मर्जरबाट पूँजी परिचालन गरेर सिनर्जी हासिल गर्न नसक्दा यी बैंकहरूले वित्तीय सफलता हासिल गर्न नसकेको बैंकरहरूको भनाइ छ । यस्तै, मर्जरअघि कमजोर बैंकले लगानी गरेको कर्जा अहिले असुली हुन नसक्दा खराब कर्जा ह्वात्तै बढेको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्था बलियो बनाएर संस्थागत सुशासन कायम गर्न मर्जर तथा एक्विजीसनको नीति लिएको थियो । सोही कारण पछिल्लो दशकमा एक दर्जन वाणिज्य बैंककै अस्तित्व मेटिएको छ ।

गत वर्षमात्रै दर्जन वाणिज्य बैंकले मर्जर तथा प्राप्तिमा गएर अस्तित्व मेटाएका थिए । तर, ती संस्थाहरूले अपेक्षित रुपमा वित्तीय अवस्था बलियो बनाउन नसकिरहेको जानकारहरू बताइरहेका छन् ।

तथ्यांकले पनि ठूला बैंककै खराब कर्जा बढेको र अन्य सूचकहरू पनि उल्लेखित रुपमा सुधार हुन नसकेको देखाउँछ । पूर्वबैंकर परशुराम कुँवर क्षेत्री अर्थतन्त्र ‘स्लोडाउन’ हुँदा निष्कृय कर्जा बढेको र मर्जरबाट तत्कालै परिणाम खोज्न नहुने बताउँछन् ।

‘अर्थतन्त्र स्लोडाउन छ । व्यापार व्यवसाय बढेको छैन । त्यसले गर्दा बैंकले ऋण लगानी गरेको रकम उठ्न नसक्दा निष्कृय कर्जा बढेको हो,’ उनले भने, ‘मर्जरमा गएका बैंकहरूको मात्रै निष्कृय कर्जा बढ्यो भनेर हेरिनु हुँदैन । मर्जरले आजको भोलि परिणाम दिने होइन ।’

अहिले अर्थतन्त्र शिथिलताको रिफ्लेक्सन सबै क्षेत्रमा देखिएको छ । माग र उपभोगमा आएको संकुचनले पछिल्लो डेढ वर्षयता बैंक तथा वित्तीय संस्थाहरूले व्यवसाय विस्तार गर्न सकेका छैनन् ।

उच्च ब्याजदर वृद्धिका कारण ऋणको माग नहुँदा बैंकहरूले एकातिर लगानी बढाउन सकेनन् भने अर्कोतिर ऋण गएको रकम समेत ऋणीको तिर्न सक्ने क्षमता कमजोर हुँदा उठ्न सकेन । लगानी गरेको रकम खराब कर्जामा परिणत हुँदै गएपछि बैंकहरूले एकातिर कर्जा लगानीको सम्भावित जोखिम व्यवस्थापन बापतको रकम प्राभिजनिङ गर्दै गए । जसको असर समग्र बैंकिङ व्यवसायमा देखिएको बैंकरहरू बताउँछन् ।

कुनको कति छ खराब कर्जा ?

तुलनात्मक रुपमा मर्ज भई बनेका बैंकहरुको खराब कर्जा उच्च छ । मर्जर भएका अधिकांश बैंकको खराब कर्जा राष्ट्र बैंकको सीमा नजिक छ । अर्थात् ४ प्रतिशत माथि छ । 

मर्जरमा गएमा बैंकहरू मध्ये सबैभन्दा धेरै लक्ष्मी सनराइजको खराब कर्जा १.२८ प्रतिशतबाट वृद्धि भई ४.८९ पुगेको छ । मेगा बैंकसँग मर्जर गरेको इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा १.५७ प्रतिशतबाट ४.८३ पुगेको छ ।

त्यस्तै, एनसीसीलाई प्राप्ति गरेको कुमारी बैंकको खराब कर्जा ४.६९ प्रतिशत पुगेको छ । सिभिल बैंक गाभेको हिमालयन बैंकको खराब कर्जा ४.६७ प्रतिशत पुगेको छ ।

बैंक अफ काठमाण्डू गाभेको ग्लोबल आइएमईको दोब्बर बढीले खराब कर्जा वृद्धि भएर ४.३८ प्रतिशत पुगेको छ । त्यस्तै, सेन्चुरी बैंक गाभेको प्रभु बैंकको खराब कर्जा ३.९७ प्रतिशत पुगेको वित्तीय विवरणले देखाउँछ ।

‘नीतिगत सुधार नगरे अझै बढ्छ’

पूर्वबैंकर अनलराज भट्टराई सरकार र राष्ट्र बैंकले नीतिगत रुपमा केही नगरे खराब कर्जा अझै बढ्ने बताउँछन् । ‘व्यापार व्यवसाय लगायत अर्थचक्रमा देखिएको समस्याका कारण कर्जा रिकभरी नहुँदा बढेको हो’, उनले भनेर्, सरकार र राष्ट्र बैंकले केही नीतिगत सहुलियत गरे बढ्दैन ।’

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले निजी क्षेत्रको व्यापार व्यवसाय स्लोडाउन हुँदा बैंकको निष्कृय कर्जा बढेको बताए । ‘अर्थतन्त्रमा दबाब रहेकोले त्यसको असर बैंकिङ व्यवसायमा देखिएको छ । बैंकहरूको निष्कृय कर्जा पहिलो त्रैमासमा बढेको छ,’ सोमबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यो समग्रमा हो, खुद निष्कृय कर्जा कम छ । समस्याको अवस्था भने होइन । विस्तारै व्यवस्थापन गर्दै जाने हो ।’

 

 

नेप्सेमा लगातार सुधार, सोनापुरको सेयरमा लगानीकर्ताको आकर्षण Read Previous

नेप्सेमा लगातार सुधार, सोनापुरको सेयरमा लगानीकर्ताको आकर्षण

कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत Read Next

कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत