काठमाडौं । बागतमी प्रदेशमा ५५.९ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार यस प्रदेशमा ५५.९ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने देखिएको हो ।
कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने प्रदेशमा ४४.१ प्रतिशतमात्र छन् । नेपालमा भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताए ।
बागमतीमा ७२.६ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पावररट्रिलर प्रयोग गर्नेको सङ्ख्यामा बृद्धि भएको छ । १४.८ प्रतिशत फलामे हलो, ३०.८ प्रतिशत ट्याक्टर र १६.७ प्रतिशत पावरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताए ।
तीन दशकमा नेपालमा कृषक परिवार संख्या र कृषकले भोगचलन गरेको जग्गामा बृद्धि भए पनि सरदर २ पटक मात्र बाली लगाएको देखिन्छ । यस प्रदेशमा १५ लाख ७० हजारभन्दा बढी घरपरिवार रहेकामा ६ लाख ६८ हजार १७७ कृषक परिवार रहेको र २ लाख ८२ हजार २९२ हेक्टर जमिन कृषिमा प्रयोग भएको उनले जानकारी दिए ।
नेपालमा सरदर ८.९१ प्रतिशत बाली सघनता रहे पनि प्रदेशमा भने २ प्रतिशत अर्थात् २ पटकसम्म बाली लगाएको पाइएको निर्देशक कार्कीले जानकारी दिए ।
उनका अनुसार प्रदेशमा बगैँचाको रुपमा आँप ५३२ हेक्टरमा, केरा ८ हजार १२० हेक्टरमा, सुन्तला ६८८ हेक्टरमा, कागती ४६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको छ । त्यस्तै प्रदेशमा गाई भैसी पालन घट्दो छ । २०६८ को गणनादेखि नै यसको क्रम घट्दो देखिन्छ । गाईगोरु र राँगाभैसीभन्दा खसीबाख्रा, सुङ्गुर र बङ्गुर पाल्नेको सङ्ख्या भने धेरै बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशमा उत्पादन गरिएको वस्तु सबै घरायसी उपभोग गर्ने ६६.४ प्रतिशत कृषक छन् भने केही वस्तु बिक्री गर्ने २५ प्रतिशत, केही घरायसीका लागि राखी सबै बिक्री गर्ने ७.४ प्रतिशत र सबै वस्तु बिक्री गर्ने ०.९ प्रतिशत रहेका छन् ।
युवाहरू विदेशिने भएका कारण पनि नेपालमा पछिल्लो समय कृषिमा महिलाको सङख्या बढ्दो छ । विगत तीन दशकदेखीको नतिजा हेर्दा अहिले महिला कृषकको सङख्या बृद्धिभएको निर्देशक कार्कीले बताए ।
नेपालमा ३२.४ प्रतिशत महिला कृषक छन् भने बागमती प्रदेशमा मुख्य कृषकको रुपमा महिला ३७.२ प्रतिशत र पुरुष ६५.८ प्रतिशत रहेका छन् । विसं २०५८ को गणनामा महिला ८.८ प्रतिशत र पुरुष ९१.९ प्रतिशत कृषक थिए ।
किसानको मुख्य चिन्ता भने समयमै मल, बीउ उपलब्ध नहुनुमा छ । कृषिगणनामा सहभागीमध्ये ५७ प्रतिशतले समयमै मल, बीउ उपलब्ध भए उत्पादन बढाउन सकिने बताए ।
त्यस्तै ४८ प्रतिशतले सिँचाईको व्यवस्था, २७ प्रतिशतले कृषि कार्यका लागि तालिमको व्यवस्था, २७ प्रतिशतले कृषि प्राविधिक सेवा सहज, २२ प्रतिशतले कृषि औजार एवं आधुनिक साधन, १८ प्रतिशतले उन्नत नश्ल सुधार र उन्नत बीउबीजन, १२ प्रतिशतले कृषि उत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शून्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ ।