काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो घर तथा अपार्टमेन्ट किन्ने ऋणीलाई धितो मूल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था गरेसँगै वाणिज्य बैंकहरुले सोही अनुसार कर्जा प्रवाह गर्न थालेका छन् ।
केन्द्रीय बैंकले बाटो खोलिदिएसँगै बैंकले ७० प्रतिशतसम्म कर्जा दिने व्यवस्था गर्न लागेको जानकारी दिएका छन् । तर, नेपाल जग्गा तथा आवास विकास संघका विपिन चित्रकारका अनुसार राष्ट्र बैंकले ७० प्रतिशत ऋण दिन भने पनि बैंकहरुले दिन नमानेको गुनासो गरे ।
उनले विशेषगरि अपार्टमेन्टहरुलाई बैंकले यस्तो ऋण नदिने बताए । ‘घर, जग्गा र हाउजिङमा ४० देखि ६० प्रतिशतसम्म ऋण दिन्छ, त्यसमा पनि भ्यालुएसन गरेर बजारको मूल्यभन्दा कम मूल्याङकनमा ऋण पाइन्छ, एक करोडको घर तथा अपार्टमेन्टलाई ५० लाख भ्यालुएसन गर्छन्,’ चित्रकारले चाणक्य पोष्टसँग भने ।
उनले गाडी किन्दा शोरुमकै मूल्यमा ऋण दिने तर अपार्टमेन्ट, हाउजिङ, घर तथा जग्गाको भ्यालुएसन बजारमा भएको मूल्यभन्दा ५० प्रतिशत कम गर्ने गरेको उनले बताए ।
यस्तै रियल स्टेट एण्ड रिसर्च सेन्टरका मार्केटिङ हेड किशोर खरेलले अपार्टमेन्टहरुलाई अनुत्पादक क्षेत्र भनिएकाले अपार्टमेन्ट किन्दा सहजै ऋण नदिने गरेको गुनासो गरे । उनले पछिल्लो समय अपार्टमेन्टहरुको मूल्य बढेको तर, त्यसमा ऋण पाउन सहज वातावरण भने नबनेको बताए ।
बैंकहरुले गाडी किन्दा शोरुमकै मूल्यमा ऋण दिने तर अपार्टमेन्ट, हाउजिङ, घर तथा जग्गाको भ्यालुएसन बजारमा भएको मूल्यभन्दा ५० प्रतिशत कम गर्ने गरेको गुनासो धेरै नै सुनिन्छ ।
‘बैंकहरुले हत्तपत्त अपार्टमेन्टलाई ऋण दिँदैनन्, केही आफ्ना र नजिककालाई दिने तर, अन्य साधारण मानिसलाई सहजै नदिन गर्छन्,’ खरेलले भने ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले अपार्टमेन्टहरु किन्नेलाई ऋण नदिने जानकारी दियो । बैंकले एकल घर किन्नेलाई कर्जा दिएपनि अहिलेसम्म अपार्टमेन्टलाई कर्जा नदिएको जानकारी दियो ।
त्यसैगरी एभरेष्ट बैंकले अपार्टमेन्टलाई समेत ७० प्रतिशतसम्म ऋण उपलब्ध गराउने जानकारी दिएको छ । बैंकले ३ हजार स्क्वायर फिटमा बनेका एपार्टमेन्टका लागि ऋण उपलब्ध गराउने भएको हो ।
आफ्नो र परिवारका सदस्यको नाममा घर, जग्गा नभएका पहिलो पटक घर तथा अपार्टमेन्ट किन्न आँटेकालाई यो सुविधा दिन लागेको बैंकले जनाएको छ ।
लक्ष्मी बैंकले पनि पहिलो पटक घर, जग्गा तथा अपार्टमेन्ट किन्नेका लागि ७० प्रतिशतसम्म ऋण दिने भएको छ । साथै, प्राइम बैंक, एनआईसी एसिया लगायत बैंकले भ्यालुएसनको ७० प्रतिशतसम्म घर कर्जा उपलब्ध गराउन सुरु गरेको जानकारी दिए ।
केही बैंकले भने कर्जा खोज्ने मानिसले नै ७० प्रतिशतसम्म कर्जा नखोजेको जानकारी दिए । हिमालयन बैंकले तत्काल ७० प्रतिशतसम्म कर्जा नदिएपनि कसको पहिलो घर हो भन्ने छुट्टाउने आधार तयार भएसँगै घर, जग्गा, अपार्टमेन्ट र हाउजिङलाई समेत ७० प्रतिशत ऋण दिने जनाएको छ ।
धेरै बैंकहरुले कसरी यसलाई कार्यान्वयनमा लाने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन् । नविल, प्रभु, ग्लोबल आइएमई, नेपाल बंगलादेश, सिभिल, मेगा लगायतका बैंकले यसमा गृहकार्य गरिरहेको जनाएका छन् ।