काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा ७० अर्ब २५ करोड रुपैयाँ लगानीका उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार कात्तिक मसान्तसम्ममा १ सय १९ उद्योग दर्ता भएका हुन ।
दर्ता भएको उद्योगमध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रका रहेको । उद्योग विभागको तथ्यांकले देखाएको छ । यस अवधिमा पर्यटन क्षेत्रमा कूल ९ अर्ब रुपैयाँ लगानीका ४९ वटा उद्योग दर्ता भएका छन् । यसैगरी उर्जा क्षेत्रमा १९, सूचना प्रविधिमा ६, उत्पादनमूलक २४, सेवामूलक क्षेत्रमा १८ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
कात्तिक मसान्तसम्म उर्जा क्षेत्रमा ४५ अर्ब लगानीमा १९ वटा उद्योग दर्ता भएका हुन् । ती उद्योगहरु सञ्चालनमा आएपछि ७ सय ४९ जनाले रोजगार पाउने छन् ।

उत्पादन मूलक क्षेत्रमा १० अर्ब ६३ करोड लगानीमा २४ वटा उद्योग दर्ता भएका छन् ।ती उद्योगहरु सञ्चालनमा आएपश्चात २ हजार १ सय ११ जनाले रोजगार पाउने छन् ।
यस्तै, सेवामूलक क्षेत्रमा १८ नयाँ उद्योग दर्ता भएका छन् । ३ अर्ब २४ करोड लगानीमा सो उद्योगहरु दर्ता भएका हुन् । उक्त उद्योगहरु सञ्चालनमा आएपछि १ हजार ६ सय ८८ ले रोजगार पाउनेछन् ।
सूचना तथा प्रविधि तर्फ १ अर्ब लगानीमा ६ वटा नयाँ उद्योग दर्ता भएको छ । ती उद्योग सञ्चालनले ४ सय ५७ लाभान्वीत हुनेछन् । कृषि तर्फ ३ अर्ब लगानीमा ३ वटा मात्र उद्योग दर्ता भएका छन् ।