काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण व्यवसायी (ठेकेदार) विरुद्ध अनसन बस्न पनि तयार रहेको बताएका छन् ।
बाराको निजगढमा मंगलबार नेकपा प्रदेश २ ले आयोजना गरेको कार्यक्रममा उनले समयमा विकास निर्माणको काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने र कारबाही नभए आफैं आएर अनशन बस्ने बताएका हुन् ।
‘यदि ठेकदारले युद्धस्तरमा काम गर्दैन भने तिनलाई के कारबाही गर्नुपर्ने म सरकारलाई भन्छु । यदि सरकारले सुन्न गाह्रो पर्यो भने म नै अनसनमा बसेर भए पनि तपाईहरुको साथमा रहने छु’ उनले भने ।
प्रचण्डले तराईका जिल्लाहरुमा सिञ्चाई समस्या छिट्टै समाधान गर्ने पनि बताए । उनले हुलाकी राजमार्गलाई निर्धारित समयमा सम्पन्न गर्न रकमको अभाव हुन नदिने बताए ।