डलरले बनायो हालसम्मकै महँगोको रेकर्ड, नेपाली अर्थतन्त्रमा कस्तो पर्छ असर ?

काठमाडौं । पछिल्लो समय लगातार आकाशिँदै गएको अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बिहीबार एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा पुग्दै हालसम्मकै महँगोको रेकर्ड बनाएको छ ।

नेपाल राष्ट्र बैंकले अनुसार नेपाली मुद्रामा डलरको याे विनिमयदर हालसम्मकै उच्च हो । यसअघि गत असोज ३० गते एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ५५ पैसा पुगेको थियो ।त्यस्तै,  राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर भने १३२ रुपैयाँ ९७ रुपैयाँ तोकेको छ ।

विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

विश्वव्यापी रूपमा डलरको माग बढेसँगै लगातार यसको मूल्य आकाशिँदै गएको जानकारहरू बताउँछन् । डलर विश्वव्यापी रूपमा भुक्तानी गर्न प्रयोग हुने मुद्रा हो । त्यसैले हरेक देशले डलरको संचिति बढाउन तर्फ ध्यान दिएका हुन्छन् । साथै, डलरमाथिको अन्तर्राष्ट्रिय विश्वनियताले पनि यसको माग बढ्दै गएको हो । माग बढेपछि डलरको भाउ बढ्ने गरेको छ ।

जब अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक वा अन्य कारणले संकट आउँछ त्यसपछि तरलताको दबाब बढ्छ । डलरमा लगानी गरे जतिबेला पनि काम लाग्छ भन्ने सोचाइ संसारभरका देशहरूमा हुन्छ । अहिले इजराजय र हमास बीचको युद्धले मध्यपूर्वमा संकट निम्त्याएको छ । डलरमा गरिएको लगानी तुलनात्मक रुपमा सुरक्षित मानिने चलन रहेकाले पनि यसप्रति लगानीकर्ताको आकर्षण देखिन्छ ।

नेपाली अर्थतन्त्रमा कस्तो पर्छ असर ?

अमेरिकी डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै असर पर्ने गर्छ । तर, नेपालको अर्थतन्त्र आयातमुखी रहेकाले नकारात्मक असर धेरै पर्ने अर्थविद्हरु बताउँछन् ।

नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ ।

त्यस्तै, डलरको भाउ बढ्ने बित्तिकै आयातित वस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको सावाँ र ब्याजको दायित्व बढ्ने गर्छ । जसले नेपाली अर्थतन्त्रमा नकारात्मक असर पार्छ ।

डलरको भाउ बढ्दा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव पर्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशतभन्दा कम रहेकाले डलको भाउ बढ्दा न्यून मात्र लाभ हुन्छ ।

पछिल्लो समय विप्रेषण आप्रवाह र पर्यटक आवगमन भने निरन्तर बढ्दो क्रममा रहेकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । सन् २०२३ को १० महिनामा ८ लाख बढी पर्यटक नेपाल भिएका छन् । सेम्टेम्बर महिनामा मात्रै कीर्तिमानी १ लाख १७ हजार बढी पर्यटक नेपाल आएका छन् । अहिले पर्यटकी सिजन भएकाले आगामी महिनाहरु पनि पर्यटक आवगमने बढ्ने अपेक्षा छ । नेपाल आउने पर्यटक बढेसँगै नेपालीमा विदेशी मुद्रा भित्रिने र यसले संचिति बढाउन सहयोग गर्छ ।

त्यस्तै, वैदेशिक रोजगरीमा गएका नेपालीहरूले विदेशी मुद्रामा रेमिट्यान्स पठाउँछन् । डलरको भाउ बढ्दा उनीहरूले नेपाल पठाउने पैसामा पनि वृद्धि हुन्छ । जसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ ।

निफ्राको नाफामा सुधार, वितरणयोग्य नाफा २१ करोड Read Previous

निफ्राको नाफामा सुधार, वितरणयोग्य नाफा २१ करोड

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा