काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९.३० प्रतिशतले बढेको छ ।
असोज मसान्तसम्म बैंकले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३ करोड ५२ लाख रुपैयाँ बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको खुद नाफामा सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.९९ प्रतिशत बढेर ७० करोड १५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ९.२८ प्रतिशत बढेर ५९ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
हाल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा २ अर्ब ५९ करोड संचित छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड २४ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकले ८२ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९३ करोड कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप १०८.१३ प्रतिशत र कर्जा ६.३१ प्रतिशतले बढेको हो ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७.०१ रुपैयाँबाट बढेर ७.६६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११२.०२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.३६ गुणा छ ।