मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी

म्याग्दी । मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर  तेइस करोड मूल्य बराबरकोे च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।
केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि ५ हजार ७५५  च्याङग्रा निकासी भएको जानकारी दिए। ‘जोमसोमको नाकाबाट ५ हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,’ उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा रु. २३ करोड दुई लाख मूल्य बराबरको च्याङग्रा निकासी भएको छ ।’
मुस्ताङका कृषकले पालेका ४ हजार र १ हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङग्रा निकासी भएको उनले बताए । गतअसोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङग्रा निकासी भएको थियो ।
प्रतिगोटा च्याङग्राको स्वास्थ्य परीक्षण गरेवापत पशुु चिकित्सकलाई रु. १५ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । च्याङग्रा खरीद गर्नका लागि व्यापारीहरु मुस्ताङका कृषकको गोठमै पुगेका थिए ।
कृषकले प्रतिगोटा रु. ४० हजारको हाराहारीमा च्याङग्रा बिक्री गरेको बताएका छन् । गत वर्ष ६ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।
पछिल्लो ४ वर्षयता चिनियाँ च्याङग्रा नआएको र मुस्ताङमा च्याङग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको छोसेरका कृषक आङगेल गुरुङले बताए । तीन देखि चार वर्ष उमेरका च्याङग्रा मासुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङग्राहरुले लेकाली जडिबुटीहरु खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरुको अनुभव छ । दसैं तिहारमा च्याङग्राको मासुको खपत बढी हुने गर्छ ।
मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङग्रा पालिएका छन् । पैसठ्ठी  ठूला च्याङग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५०  सम्म घरघरमा च्याङग्रा पालेका छन् । हिमचुतुवा, ब्वासो र जंगली कुकुर च्याङग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ ।
तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको रु. २५ हजार थियो । कोरोना महामारीका कारण चिनिया कोरला नाकाबाट च्याङग्रा आयत नभएकाले मुस्ताङको च्याङग्राको मूल्य बढेको ब्यापारी बाबुराम बानियाले बताए । बैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङग्रा आयात हुने गर्दथ्यो । रासस
दशैंमा अनलाइन कम्पनी पनि बन्द, फूडमाण्डु र दराजले सेवा नदिने Read Previous

दशैंमा अनलाइन कम्पनी पनि बन्द, फूडमाण्डु र दराजले सेवा नदिने

दशैंमा पनि हाइड्रोपावर निर्माणको काम निरन्तर Read Next

दशैंमा पनि हाइड्रोपावर निर्माणको काम निरन्तर