काठमाडौं । अनलाइन प्लेटफर्ममा आधारित व्यापार कम्पनी फूडमाण्डु र दराले दशैंको बिदामा आफ्नो सेवा बन्द गर्ने भएका छन् । अनलाइनमार्फत अर्डर लिइ डेलिभरी सेवा दिँदै आएका यी कम्पनली कम्तीमा ३ दिन आफ्नो सेवा बन्द गर्ने भएका हुन् ।
दशैंमा स्टाफहरू बिदामा रहेकाले आफ्नो सेवा बन्द गरिएको कम्पनीहरूले जनाएका छन् । फूडमाण्डुले यो दशैँमा तीन दिन सर्भिन नदिने भएको छ । दशैँको नवमी, दशमी र एकादशीको दिन कुनै पनि सर्भिस नदिने भएको हो ।
फूडमाण्डुका मार्केटिङ पर्सन श्याम मालीले यो दशैँमा ३ दिन कुनै सर्भिस नदिने बताएका हुन् । उनले दशैँको दिन मान्छे धेरै व्यस्त हुने भएकाले उक्त दिनमा फूड अर्डर र डेलिभरीको कुनै काम नहुने बताएका छन् ।
‘हामीले यो दशैँको ३ दिन सर्भिस केही नदिने भएका छौँ, अरु दिन खुल्ला हुन्छ दशैँ अफरहरू पनि राखेका छौँ,’ मालीले चाणक्य पोष्टसँग भने । उनका अनुसार दशैँभरीका लागि हरेक दिन ५ फरक रेष्टुरेन्टहरूमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यसरी किन्दा हरेक दिन फरक रेष्टुरेन्टको खाने कुरामा २५ प्रतिशत छुट राखिएको छ ।
यस्तै, हरेक कम्बो खानेकुरामा ५० प्रतिशतसम्मको दशैँ छुटको अफर पनि रहेको छ । हरेक कम्बो सेटमा रेष्टुरेन्ट अनुसार दिने छुट फरक रहेको मालीले बताए । कम्बो फूडमा ५/६ वटा फरक फरक खाने कुरा राखिएको हुन्छ । त्यो खाने कुरा जति मूल्यको भए पनि रेष्टुरेन्टहरूले तोके अनुसार अधिकतम ५० प्रतिशतसम्म छुटको व्यवस्था थरिने उनले जानकारी दिए ।
फूडमाण्डुले २ लाख बढी मानिसहरूलाई डेलिभरी सर्भिस दिँदै आएको छ । झन्डै ९० स्थानमा खानेकराहरू डेलिभरी गर्दै आएको फूडमाण्डुमा ५०० बढी होटल तथा रेष्टुरेन्ट आबद्ध रहेका छन् ।
यस्तै, अनलाइर्फत व्यापार गर्दै आएको नेपालकै सबैभन्दा ठूलो दराजले यो दशैँमा ५ दिन सेवा नदिने भएको छ । दराजले कात्तिकको ५ गतेदेखि ९ गतेसम्म आफ्नो सेवा नदिने भएको हो ।
दराजका कर्मचारी मोहन थापाले दशैँमा ५ दिन बिदा हुने बताए । उनले सो दिन दराजबाट कुनै पनि कारोबार नहुने बताए ।
अहिले भने दराजले दशैंको धमाका अफर ल्याएको छ । दराजले ल्याएको अफरअन्तर्गत ग्राहकले छुटका साथै विभिन्न उपहार, भाउचर प्राप्त गर्न सक्नेछन् ।दराजले दिउँसो १ बजेदेखि ३ बजेसम्म अर्डर गर्ने हरेक ग्राहकलाई हरेक वस्तुमा १५ प्रतिशतसम्म छुट दिनेछ । यसका लागि न्यूनतम ७०० रुपैयाँ बराबरको सामान किन्नुपर्ने छ । दशैँको अवसरमा दराजले १५ प्रतिशतदेखि ४० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ ।