काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा सवारी कर्जा (हायर पर्चेज लोन)मा ठूलो गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको (साउन र भदौमा)सवारी कर्जा २७ अर्ब ५८ करोड रुपैयाँले घटेको हो ।
गत असार मसान्तसम्म सवारी साधनमा बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब ५९ अर्ब रुपैयाँ हायर पर्चेज ऋण लगानी रहेकोमा भदौ समान्तसम्म घटेर १ खर्ब ३१ अर्ब रुपैयाँमा सीमित भएको छ ।
साउनमा २६ अर्ब ७७ करोड र भदौमा ८० करोड रुपैयाँले सवारी कर्जा घटेको तथ्यांकले देखाउँछ । कर्जा लगानी बढाउन राष्ट्र बैंकले लिएको खुकुलो नीति विपरीत सवारी कर्जा भने घटेको देखिएको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सवारी साधनमा ऋण लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई सहज बनाएको थियो । अटो बजार र बैंकको कर्जा लगानी सुस्ताएपछि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत २५ लाखभन्दा कमको हायर पर्चेज कर्जाको जोखिमभार १०० प्रतिशतमा झारेको थियो । तर, बैंकको ऋण लगानीमा भने यस नीतिको उल्टो प्रभाव देखिएको छ ।
राष्ट्र बैंकले सवारी कर्जाको जोखिम भार पुनरावलोकन गरे पनि कर्जाको माग नहुँदा बैंकको ऋण लगानीमा गिरावट आएको हो । अर्थतन्त्रमा आएको शिथिलता र गत वर्षको आयात प्रतिबन्धले बजारमा माग र आपूर्ति प्रणालीमा समस्या देखिएको छ । सोही कारण उपभोक्ताको क्रयशक्ति बढ्न सकेको छैन । जसको असर अटो बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन् ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापा गत साउन र भदौमा बजारमा सवारीसाधनको माग र ब्रिकी नै न्यून रहेको बताउँछन् । ‘त्यो बेला डिमान्ड र सेल्स नै कम थियो । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत २५ लाखसम्मको सवारीको जोखिमभार घटाए पनि त्यसले खासै इफेक्ट पार्दैन्,’ उनले भने, ‘यो इन्ट्री लेबलका गाडीको लागि पनि भएन् । त्यसकारण हामीले पहिले नै यो नीतिले बजार चलायमान बनाउँदैन भनेर भन्दै आएका थियौं । पछिल्लो चरणमा रिभ्यु भएको छ । यसले अब सकारात्मक असर पार्छ ।’
राष्ट्र बैंकले पछिल्लो पटक कर्जा लगानीका लागि बनाएको खुकुलो नीतिले पनि बैंकहरूलाई ऋण दिन सहज हुने उनले बताए ।
असोज यता सवारीसाधनको बढ्दो माग र बिक्री पनि बढ्दै गएको उनको भनाइ छ । कर्जाको माग नहुँदा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी घटेको बैंकरहरू बताउँछन् । नियामक निकायले लगानीका लागि सहज बनाए पनि बजार चलायमान नहुँदा कर्जा प्रवाहमै असर परेको उनीहरूको भनाइ छ ।
पछिल्लो समय पनि राष्ट्र बैंकले अटो कर्जामा खुकुलो नीति बनाउँदै लगेको छ । असोजमा राष्ट्र बैंकले २५ लाख रुपैयाँभन्दा बढीको हायर पर्चेज÷व्यक्तिगत अटो कर्जाको जोखिमभार २५ प्रतिशत विन्दुले घटाएको थियो ।
यसअघि २५ लाख माथिको कर्जामा जोखिमभार १५० प्रतिशत रहेकोमा घटाएर १२५ प्रतिशतमा झारेको छ । यद्यपि, यस नीतिको प्रभाव देखिन भने केही समय लाग्नेछ । कोभिडपछि बाह्य क्षेत्रमा देखिएको चुनौती हटाउन राष्ट्र बैंकले लिएका नीतिगत उपकरण र अर्थतन्त्रमा आएको संकुचनले बजार शिथिल बनाउँदै लगेको थियो । त्यसपछि गत वर्ष राष्ट्र बैंकले १० महिना सवारी साधनको आयातमै प्रतिबन्ध लगाएको थियो ।
उच्च ब्याजदरवृद्धि, मूल्यवृद्धि, उपभोक्ताको मनोबलमा आएको गिरावट लगायतका कारण सवारी व्यवसायमा पनि असर देखिएको व्यवसायीहरू बताउँछन् । यद्यपि, गत महिनासम्पन्न नाडा अटो शोले अटो बजारलाई चलायमान बनाउन सहयोग पुर्याएको उनीहरूको तर्क छ ।
चाडपर्वको यो पछिल्लो समय भने व्यवसायीहरूले सवारी बिक्री र बैंकहरूले कर्जा लगानीका लागि विशेष अवसरका रुपमा लिएको छन् । भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ४३ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सवारी साधनमा गरेको कर्जा लगानी कुल ऋण प्रवाहकको ३.०२ प्रतिशत हो ।