काठमाडौं । घोराही सिमेन्टको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७५.३३ प्रतिशतले घटेको छ ।
कम्पनीले गत असार मसान्तसम्म ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ३१ लाख रुपैयाँ कम हो । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा २१ करोड ६५ लाख नाफा कमाएको थियो ।
बिक्री आम्दानी र संचालन आम्दानी घट्दा घोराहीको नाफामा भारी गिरावट आएको हो । सिमेन्ट उद्दोगमा बजार माग भन्दा बढी उत्पादन भएकोले प्रतिस्पर्धात्मक स्थितिमा बिक्रीदर घट्न गएकाले यस वर्ष संस्थाको बिक्री वितरणमा कमी भएको र आम्दानी पनि सोही अनुसार घट्न पुगेको कम्पनीले जनाएको छ ।
समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ३.७५ प्रतिशतले घटेर ४ अर्ब ६२ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ४ अर्ब ८० करोड रुपैयाँ थियो।
कम्पनीको अन्य आम्दानी पनि ६ करोड १८ लाख रुपैयाँले घटेर १७ करोड ३८ लाख रुपैयाँमा सीमित छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च बढेर ४४ करोड रुपैयाँ पुगेको छ ।
हाल ३ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ९९ करोड, सेयर प्रिमियम रिजर्भ २ अर्ब ६५ करोड र अन्य रिजर्भ कोषमा ७ करोड ९० लाख संचिति छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.३४ रुपैयाँ र कम्पनीको प्रतिसेयर नेटवर्थ २६९.५६ रुपैयाँ छ ।