काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ १८७.५८ प्रतिशतले बढेको छ ।
बैंकले असोज मसान्तसम्म ११ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७ करोड ८० लाख रुपैयाँ बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी घटे संचालन मुनाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा बैंकको नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले घटेर ४९ करोड ९लाख रुपैयाँमा सीमित भएको छ ।
बैंकको सञ्चालन मुनाफा भने २०३.३३ प्रतिशतले बढेर १८ करोड रुपैयाँ पुगेको छ । यस्तै, गत वर्ष खराब कर्जाको व्यवस्थापनको लागि २५ करोड ६५ लाख प्रोभिजन गरेको बैंकले चालु आवमा घटेर ९ करोड ५२ लाखमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकले ५८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल ३ अर्ब २८ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ २ करोड ५६ लाख र जगेडा कोषमा १ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि झन्डै तेब्बरले बढेको छ । गत वर्ष ५.०७ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी १४.५७ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४७.१८ रुपैयाँ, खराब कर्जा ३.४८ प्रतिशत, मूल्य आम्दानी अनुपात २०.५१ प्रतिशत, बेसरेट ११.७२ प्रतिशत र सीडी रेसियो ८०.३७ प्रतिशत रहेको छ ।