भारतले नेपालसहित ७ देशमा चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । भारत सरकारले नेपालसहित ७ देशमा लगाएको चामल निर्यातको प्रतिबन्ध हटाएको छ । भारतले प्रतिबन्ध लगाएको ३ महिनापछि कोटा तोकेर ७ देशमा गैरबासमती सेतो चालम निर्यात खुला गरेको हो ।

भारतको वैदेशिक व्यापार निर्देशनालयले बुधबार एक सूचना जारी गर्दै नेपालसहित ७ देशमा चामल निर्यात खुला गरिएको जानकारी गराएको हो । यद्यपि, भारतले देशैपिच्छे निर्यात हुने चामलको कोटा तोकेको छ ।

व्यापार निर्देशनालयलका अनुसार नेपाल, क्यामरुन, आइभरी कोस्ट, रिपब्लिक अफ गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्जमा चामल निर्यात खुला गरिएको हो । यी देशहरूमा नेसनल कोअपरेटिभ एक्सपोट्र्स लिमिटेडमार्फत चामल निर्यात गर्न अनुमति दिइएको भारत सरकारले जनाएको छ ।

यी देशका सरकारहरूको अनुरोधका खाद्य सुरक्षा आवश्यकता पूरा गर्न चाम निर्यात फुकुवा गरिएको निर्देशनालयले उल्लेख गरेको छ । ७ देशका लागि भारतले कुल १०.३४ लाख टन गैरबासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ ।

जसमा सबैभन्दा धेरै फिलिपिन्सलाई २.९५ लाख टन छुट्याइएको छ । त्यस्तै, क्यामरुनलाई १.९ लाख टन, मलेसियालाई १.७ लाख टन, आइभरी कोस्टलाई १.४२ लाख टन, रिपब्लिक अफ गिनीलाई १.४२ लाख टन, नेपाललाई ९५ हजार टन र सेशेल्जमा ८ सय टन निर्यात हुनेछ ।

भारतले यसअघि संयुक्त अरब इमिरेट्स, सिंगापुर, भुटान, र मोरिससका लागि चाम निर्यात फुकुवा गरेको थियो । भारतमा चामको मूल्य वृद्धि भएपछि सरकारले गत जुलाइ २० देखि गैरबासमति चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यस्तै, अगस्टदेखि उसिना चामल निर्यातमा पनि ४० प्रतिशत कर लगाएको थियो । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा चामलको मूल्य ३० प्रतिशतसम्म बढेको थियो ।

भारत विश्वकै अग्रणी चामल निर्यातकर्ता हो। चामलको विश्वव्यापी व्यापारमा ४० प्रतिशत हिस्सा भारतको छ। गत वर्ष भारतले सवा २ करोड टन चामल १४० देशमा निकासी गरेको थियो।

सरकारलाई राजस्व संकलनमा धक्का, लक्ष्यको १५% मात्रै उठ्यो, पूँजीगत खर्च दयनीय Read Previous

सरकारलाई राजस्व संकलनमा धक्का, लक्ष्यको १५% मात्रै उठ्यो, पूँजीगत खर्च दयनीय

गाडी चढ्ने कर्मचारीप्रति सरकार उदार, ईभी चढ्नेलाई पनि इन्धन बापत नगद Read Next

गाडी चढ्ने कर्मचारीप्रति सरकार उदार, ईभी चढ्नेलाई पनि इन्धन बापत नगद