काठमाडौं । दसैं सुरू भएसँगै शहरदेखि गाउँसम्म पिङ हाल्ने र चङ्गा उडाउने माहोल सुरू भएको छ । विशेष चाडबाडको रुपमा मनाइने दसैंतिहारमा पिङ खेल्ने र चङ्गा उडाउने गरिन्छ ।
सामाजिक सांस्कृतिक प्रचलन बनेको पिङ खेल्ने र चङ्गा उडाने काम बालबालिकादेखि वृद्धवृद्धासम्मको रोजाइमा पर्ने गरेको छ । यसले चाडपर्वको झल्को दिने मात्रै नभएर खुसी तथा उमंग पनि छर्ने गरेको छ । जसको कारण दसैंमा चङ्गा र पिङ हाल्ने सामग्रीको माग उच्च हुन्छ ।
चङ्गाको सिजन भएकाले अहिले बजारमा माग निकै बढेको छ । यद्यपि, पछिल्लो समय बढ्दो प्रविधिको विकास र समय व्यस्थताका कारण चङ्गा उडाउने प्रचलनमा केही कमी आएको व्यापारीहरू बताउँछन् ।
चङ्गा बनाउने तथा त्यस्तो सामग्री अत्पादन गर्नेहरूको लागि यो विशेष सिजन पनि हो । चङ्गा तथा लट्टाइ व्यापारीलाई अहिले भ्याइनभ्याइ छ भने यस्ता सामग्री किन्न पनि मानिसको पसलमा भीड छ ।
दसैं सुरू हुनु अघि नै चङ्गा तथा धागोको माग निकै बढ्न थालेको इन्द्रचोकका चङ्गा व्यापारी निसान श्रेष्ठ बताउँछन् । ‘चङ्गाको माग दसैंअघि नै हुन थालेको थियो । अहिले त्योभन्दा बढेको छ,’ उनले भने, ‘दैनिकजसो दुई/तीन सय चङ्गा र लट्टाइइ बिक्री भइरहेको छ । खास गरेर हामीकहाँ धागो सहितको लट्टाइ खोज्न आउँछन् ।’

धागो र लट्टाइका सामग्री अन्य ठाउँबाट ल्याउने र त्यहाँ फिट मात्रै गरेर बिक्री गर्ने गरेको उनले बताए । मनोरञ्जन र प्रचलन मात्रै नभएर चङ्गा र पिङका लागि अपनाइने गविधिहरू अर्थतन्त्रसँग पनि जोडिएका छन् । जसले मानिसलाई किनमेलमा सहभागी गराउँछ । चङ्गा, धागो लट्टाइइको यति नै मूल्य बराबरको कारोबार हुन्छ भन्ने एकीन तथ्यांक नभए पनि सिजनमा करोड रुपैयाँ बढीको व्यापार हुने गरेको व्यवसायीहरू बताउँछन् ।
अहिले बजारमा थरिथरिका चङ्गा र सोही अनुसार धागोको लट्टाइ रहेका छन् । ‘२० मिटरदेखि २ हजार ५०० मिटरसम्मको धागो सहितको लट्टाइइ छन्,’ उनले भने ।
बाँसबाट बनेका यस्ता लट्टाइ भने बलियो हुने भएकाले अर्को पटक पनि प्रयोग गर्न सकिने उनले बताए । पछिल्लो समय बाँस मात्रै नभएर रबरबाट बनेका लट्टाइहरू बजारमा छ्याप्छ्याप्ति पाइन थालेका छन् । काठको तुलनामा रबरका सस्तो हुने भएकाले जतातै भेटिने् गरेको व्यापारीहरू बताउँछन् ।

एउटा चङ्गाको मूल्य धागो, लट्टाइ र चङ्गा गरेर २०० देखि ३ हजारसम्म रुपैयाँसम्म पर्ने उनीहरूको भनाइ छ । ‘चङ्गा ५/१० रुपैयाँमै जता पनि पाइहाल्छ । तर, लट्टाइ र धागोको महंगो पर्छ । हामीकहाँ ५ सयदेखि ३ हजार रुपैयाँसम्मका चङ्गाका सामग्री छन्,’ श्रेष्ठले भने ।
धगोको लम्बाइ अनुसार मल्य फरक पर्ने उनले बताए । उनले २५ सय मिटर धागो सहितको लट्टाइ २५ सय र पाँचसय मिटर धागो भएको लट्टाइ ५०० रुपैयाँमै बिक्री गरिरहेको बताए ।