काठमाडौं । त्रिभुवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले रेकर्ड बनेको छ । दैनिक औसतमा ८०-९० अन्तर्राष्ट्रिय उडान-अवतरण हुँदै आएकोमा सोमबार एकैदिन ११४ उडान अवतरण हुँदै नयाँ रेकर्ड बनाएको हो ।
सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा सोमबार एकैदिन दुईतर्फी ११४ उडान/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ । यो एकैदिनमा भएको अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान अवतरण हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
नेपालमा पर्यटकीय याम सुरु भएको र दसैँलगायत महत्त्वपूर्ण चाडपर्व पनि प्रारम्भ भएकाले विदेशबाट नेपाल आउनेको सङ्ख्या बढेको छ ।
आन्तरिकतर्फ पनि उडान चाप रहेको छ । दैनिक दुईतर्फी तीन सय उडानबाट करिब १५ हजार यात्री आवतजावत गरिरहेका विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् ।