काठमाडौं । केही दिन अघि यातायात व्यवस्था विभागले सूचना जारी गरी निजी सवारी साधनहरुले भाडा लिई यात्रु ओसारपसार नगर्न सचेत गराएपछि मानिसहरुको चासो यो सूचना प्रति ह्वात्तै बढेको छ । ट्राफिक प्रहरीले ‘राइड सेयरिङ’ कम्पनी पठाओ र टूटलका चालकहरुलाई कारवाही गरेपछि सबै सरोकारवालाहरुको ध्यानाकर्षण भएको हो ।
सार्वजनिक यातायातको दूरावस्थाको समयमा सर्वसाधारणलाई यात्रामा केही सहजता प्रदान गरिरहेका सृजनशील कम्पनीहरुलाई राज्यले उचित ढंगले संरक्षण र नियमन नगरेपछि सामान्यजनहरुले समेत चासो व्यक्त गरेका हुन् ।
यद्यपी ट्राफिक प्रहरीले भने टूटल वा पठाओ केन्द्रीत कारवाहीको अभियान नचलाएको जनाएको छ । ‘हामीले सवारी तथा यातायात ऐन २०४९ को दफा ८ (२)मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाईने छैन’ भन्ने कानुनी व्यवस्थाका अनुसार त्यस्ता सवारीहरुलाई कारवाही गरेका हौं । टुटल वा पठाओ केन्द्रीत कारवाही प्रक्रिया अगाडि बढाएको होइन’ ट्राफिक प्रवक्ता भिम प्रसाद ढकालले चाणक्य पोष्टसँग भने ।
साथै, मन्त्रालय स्तरबाट पनि टुटल वा पठाओलाई सञ्चालन गर्न नदिने गरि कारवाही प्रक्रिया अघि बढाउन कुनै निर्देशन नदिएको मन्त्रालय स्रोत बताउँछ ।
पठाओले पनि आफ्नो राइड साविक बमोजिममै सञ्चालन गरिरहेको जानकारी दिएको छ । ‘हाम्रो राइडमा कुनै कमी आएको छैन । बरु, बढेको छ ,’ पठाओको बजार अधिकृत सुरक्षा हमाल बताउँछिन् ।
‘यातायात विभागले अर्को कुनै प्रयोजन वा उद्देश्यले जारी गरेको निर्देशनलाई ट्याक्सी चालकहरुले अनावश्यक रुपमा आफ्नो फाइदामा प्रयोग गर्न खोज्नुभएको हो’ तर, हमाल ट्याक्सी चालकहरुले टुटल वा पठाओलाई प्रतिस्पर्धीको रुपमा लिनु नपर्ने बताउँछिन् । दुवैको व्यवसाय आ–आफ्नै प्रकृतिको भएको उनको दाबी छ ।
हाल आफूले दैनिक २० हजार मोटरसाइकल र २ हजार ट्याक्सी राइड सञ्चालन गरिरहेको पठाओले जानकारी दिएको छ । तर, यत्रो राइड सञ्चालन गरेपनि कानुनी र प्रविधिक रुपमा भने यो व्यवसाय गैरकानुनिनै रहेको छ ।
राज्यले यो व्यवसायको नियमनको लागि पुरानो ऐन कानुनमा परिर्वतन गर्न खासै तदारुकता भने देखाएको छैन । ‘नियम कानुन संशोधन गरेर सेवाग्रहीलाई थप गुणस्तरिय सेवा प्रदान गराउन हामी लागिपरेका छौं । यसमा राज्यको सहयोग अपरिहार्य नै छ’ सुरक्षा हमाल बताउँछिन् ।