२४ बैंकले गरे लाभांश घोषणा, कुनले कति दिए

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हालसम्म २४ वाणिज्य बैंकहरुले सेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन् ।

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत २७ वटा वाणिज्य बैंकमध्ये अब ३ वटा बैंकले मात्र लाभांश घोषणा गर्न बाँकी रहेको छ । अहिलेसम्म लाभांश घोषणा नगर्ने बैंकहरुमा एनसीसी, कृषि विकास र सेन्चुरी कमर्शियल रहेका छन् ।

 

गत वर्षको वितरणयोग्य नाफाबाट लाभांश घोषणा गर्ने अधिकांश बैंकहरुले सेयरधनीलाई बोनस सेयर र नगद दुवै दिने घोषणा गरेका छन् ।

 

लाभाशंको घोषणा गरेका बैंकहरुमध्ये २१ वटा बैंकहरुले बोनस र नगद दुवै दिने घोषणा गरेका छन् भने ३ वटा बैंकले नगद लाभांश मात्रै दिने घोषणा गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड, मेगा र सिभिल बैंकले लगानीकर्तालाई नगद लाभांश मात्र दिने घोषणा गरेका छन् ।

 

गत वर्षको मुनाफाबाट २० प्रतिशतभन्दा धेरै लाभांश दिने बैंकहरु :

लाभांशको घोषणा गर्ने बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश एनएमबी बैंकले दिएको छ । एनएमबीले २१ प्रतिशत बोनस र १४ नगद गरी कूल ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

 

गत वर्ष एनएमबीको भन्दा धेरै नाफा कमाएको नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस १२ र नगद २२ प्रतिशत रहेको छ ।

 

अघिल्ला तीन वर्षहरुमा ४० प्रतिशतभन्दा धेरै लाभांश दिँदै आएको नेपाल इन्भेष्टमेन्ट बैंकले यस वर्ष २० प्रतिशतभन्दा कम लाभांश दिने भएको छ । यस्तै २३ वर्षदेखि लाभांश वितरण नगरेको सरकारी स्वामित्वको नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

 

गत वर्षको मुनाफाबाट १५ प्रतिशतभन्दा बढी लाभांश दिने बैंकहरु :

यस्तै, ८ बैंकहरुले गत वर्षको नाफाबाट २० देखि ३० प्रतिशत लाभांश बाँड्ने भएका छन् भने ९ बैंकले १५ देखि २० प्रतिशतसम्म  लाभांश घोषणा गरेका छन् ।

 

सिभिल बैंकले सबैभन्दा कम लाभांश घोषणा गरेको छ । गतवर्ष सबैभन्दा कम नाफा कमाएको सिभिलले सेयरधनीलाई ६.५७ प्रतिशत नगद दिने घोषणा गरेको छ ।

 

बोनसभन्दा नगद धेरै

 

बैंकहरुले बोनसभन्दा नगदमा धेरै रकम बाँड्ने भएका छन् । २४ वटा बैंकहरुले २२ अर्ब २३ करोड १४ लाख रुपैयाँ नगद वितरण गर्ने छन् भने १९ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएका छन् ।

 

गत वर्षको मुनाफाबाट सबैभन्दा कम लाभांश दिने बैंकहरु :

गत वर्षसम्म चुक्ता पूँजी बढाउनुपर्ने बाध्यता रहेकोमा अहिले सबैले पुर्याइसकेकाले बैंकहरुले नगद लाभांशलाई जोड दिएका हुन्। लगानीकर्ता बोनस सेयरमा आकर्षित हुँदै गर्दा बैंकहरुले भने नगदलाई जोड दिएपछि केही हदसम्म सेयर बजार प्रभावित भएको लगानीकर्ताको भनाइ रहेको छ ।

 

अहिलेसम्म १३ वटा बैंकले साधरण सभा सम्पन्न गरी घोषणा गरेको लाभांश वितरण गरिसकेका छन् भने बाँकी रहेका बैंकहरुले पनि धमाधमा साधरण सभा बोलाइरहेका छन् । ती बैंकहरुले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा सम्बन्धित बैंकको साधरणसभाले पारित गरेपछि मात्र सेयर धनीले पाउने छन् ।

 

 

सहुलियत पूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन Read Previous

सहुलियत पूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

सेयर बजार सूचक स्थिर, २९ करोडको कारोबार Read Next

सेयर बजार सूचक स्थिर, २९ करोडको कारोबार