तत्काल कर्जाको माग बढ्ने छैन छाँट, महँगोमा निक्षेप उठाउँदा बैंकलाई उल्टो तनाव

काठमाडौं । वित्तीय सूचक र नीति अनुकुल हुँदा पनि ऋण लगानी भने सुस्ताएको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता, लगानीका लागि खुकुलो नीति र अन्तर बैंक ब्याजदर निकै तल झर्दा समेत बैंंकहरूले ऋण लगानी बढाउन नसकेका हुन ।

गत आर्थिक वर्ष लगानीयोग्य रकम अभाव, उच्च ब्याजदर र नियामक निकायको कसिलो नीतिका कारण ऋण लगानी बढाउन सकेका थिएनन् । तर, यस वर्ष भने यी सबै सूचकहरू सकारात्मक हुँदा पनि बैंकको लगानी वृद्धि भएको छैन ।

नयाँ लगानी बढाउन ऋणको माग नहुँदा संस्थाहरूले कर्जा प्रवाह बढाउन नसकेको बैंकरहरू बताउँछन् । एकातिर अर्थतन्त्रमा आएको संकुचनका कारण बजारमा उपभोग्य वस्तुको माग बढ्न सकेको छैन भने अर्कोतर्फ महँगो ब्याजमा ऋण लिएर लगानी गर्ने मनस्थितिमा उद्यमी छैनन् ।

सरकार र नेपाल राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन भन्दै नीतिगत लचकता अपनाए पनि व्यवसायीको मनोबल बढ्न र ब्याजदर घट्न नसक्दा कर्जाको माग बढ्न नसकेको हो ।

पछिल्लो डेढ वर्षयता उत्पादन लगायतका क्षेत्रहरूमा ठूलो कर्जाको माग हुन छाडेको वाणिज्य बैंंकका एक प्रमुख कार्यकारी अधिकृत बताउँछन् ।

‘यो वर्ष पनि खासै ऋणको माग बढेको छैन । माग नभपछि संस्थाले व्यवसाय बढाउन सक्ने कुरा भएन,’ उनले भने, ‘समग्र अर्थतन्त्रमा देखिएको समस्याको कारण नै यस्तो भएको हो । यही अवस्था रहे आार्थिक संकटले लामो समय निरन्तरता पाउने देखिन्छ ।’ सरकार र राष्ट्र बैंकले लगानीका लागि खुकुलो नीति बनाएका कारण अब खुम्चिने ठाउँ भने नरहेको उनको भनाइ छ ।

लगानीको लागि व्यवसायीको मनोबल बढ्न नसकेकोले अझै लगानी वृद्धि र अर्थतन्त्र चलायमान हुन नसकेको निजी क्षेत्रका उद्योगी व्यवसायी बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य उद्योगी व्यवसायीको लगानीमा अझै मनोबल बढ्न नसकेका कारण थप नयाँ लगानी हुन नसकेको बताउँछन् ।

‘सरकारले नीतिगत रुपमा खुकुलो बनाउँदै लगेको छ । तर, यो लामो समयदेखिको समस्या भएकाले अहिले नै ऋणको माग बढ्ने देखिँदैन,’ उनले भने, ‘लगानीका लागि मनोबल बढ्न कसेको छैन । रिर्फम हुन केही समय लाग्छ ।’

अब कम्तीमा पनि मंसिर नलागी कर्जाको माग बढ्ने देखिँदैन । दशैंतिहार जस्ता चाडवाड नजिएकाले कात्तिकमा कर्जा माग नबढ्ने बैंकरहरू बताउँछन् । यद्यपि, अटो र व्यक्तिगत घरकर्जाको भने माग बढिरहेको उनीहरुको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको अढाई महिनामा बैंकहरूले करिब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह बढाएका छन् । चालु वर्षको पहिलो महिना (साउन)मा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १६ अर्ब रुपैयाँले घटेको थियो । भने त्यसपछि भदौमा ५४ अर्ब र असोजमा २५ अर्बले ऋण लगानी बढाएका छन् ।

गत असार मसान्तसम्म ४८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको बैंक तथा वित्तीय संस्थाको कुल ऋण लगानी असोज १७ सम्म आइपुग्दा ४९ खर्ब ३८ अर्ब पुगेको छ । यो अवधिमा बैंकको निक्षेप संकलन आधा खर्ब बढीले वृद्धि भएको छ । असोज मध्यसम्म ५८ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

महँगोमा निक्षेप उठाउँदा बैंकलाई तनाव

बैंकिङ प्रणालीमा अहिले लगानीयोग्य रकम थुप्रिएको छ । तर कर्जाको माग नढ्दा बैंकमै पैसा थुप्रेर बसेको छ । एकातिर भएकै पैसा लगानी गर्न सकेका छैनन् भने अर्कोतर्फ महँगोमा निक्षेप उठाएकाले बैंकहरुलाई झनै तनाव भएको छ ।

नेपाल बैंकर्स संघले भद्र सहमति खारेज गरेसँगै बैंकहरूले भदौदेखि आफूखुसी ब्याजदर तोकेका थिए । वैशाख यता घट्दो ट्रेन्डमा रहेको निक्षेपको ब्याजदर भदौदेखि फेरि बढ्न थालेको थियो । अर्को बैंकमा रहेको निक्षेप खोस्न केही बैंकले निक्षेपमा धेर्रै ब्याज दिएका छन् । तर, महँगो ब्याजमा थुपारेको निक्षेप कर्जा लगानी गर्न नसकेपछि अहिले बैंकलाई निक्षेप आफ्नै खुट्टामा बञ्चरो हाने जस्तै भएको छ । महँगोमा उठाएको निक्षेपले बैंकको लागत बढ्न गई बेसरेट समेत बढाएको छ ।

राष्ट्र बैंकको तथ्यांक हेर्दा अहिले बैंकिङ प्रणालीमा साढे ४ खर्ब बढी तरलता छ । गत बिहीबारसम्म औसतमा बैंक तथा वित्तीय संस्थाको (निक्षेप कर्जााको अनुपात)सीडी रेसीयो औसतमा ८१ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले ९० प्रतिशतसम्मको सीडी अनुपातमा ऋण दिनसक्ने व्यवस्था गरेको छ । यस सूचकले पनि बैंक तथा वित्तीय संस्थाहरू लगानीका लागि निकै सहज अवस्थामा छन् भन्ने देखाउँछ ।

सरकारले गत भदौदेखि स्थानीय तहकोे ६० प्रतिशत रकम बैंकहरूलाई निक्षेपको रुपमा गणाना गर्न दिएको छ । सोही कारण पनि प्रणालीमा थप रकम थुप्रिएको छ । रकम थुप्रिएपछि पछिल्लो समय राष्ट्र बैंकले आन्तरिक ऋण समेत उठाइरहेको छ ।

अहिले अन्तर बैंक ब्याजदर २.२५ प्रतिशतमा झरेको छ । औषतमा १२.२४ प्रतिशत कर्जाको ब्याजदर छ । गत वर्ष १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर त्यसयता घटिरहेकोे छ । डेढ वर्षदेखि ऋणको माग नभएपछि राष्ट्र बैंकले सेयर धितो, घर कर्जा, रियलस्टेट कर्जा, सवारीसाधन कर्जामा खुकुलो नीति बनाएको छ । यसका बाबजूद अझै ऋण लगानी अपेक्षा अनुसार बढेको छैन ।

चालु वर्षमा राष्ट्र बैंकले साढे ५ खर्बले ऋण लगानी बढाउने लक्ष्य लिएको छ । तर, पहिलो त्रैमाससम्म एकतिहाई पनि विस्तार हुने अवस्था देखिएको छैन ।

मेलम्चीको खानेपानीको नयाँ ‘हेडवर्क’ एक किलोमिटर सार्नुपर्ने Read Previous

मेलम्चीको खानेपानीको नयाँ ‘हेडवर्क’ एक किलोमिटर सार्नुपर्ने

२ अर्ब १५ करोड खर्चेर फूटपाथ निर्माण गर्दै काठमाडौं महानगर, यी ठाउँ बन्दै छन् चिटिक्क Read Next

२ अर्ब १५ करोड खर्चेर फूटपाथ निर्माण गर्दै काठमाडौं महानगर, यी ठाउँ बन्दै छन् चिटिक्क