काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा २ अर्ब १५ करोड रुपैयाँ लागतमा पैदलमार्ग (फूटपाथ)को मर्मत तथा सुधार गर्नेभएको छ ।
यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भइ काम सुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक सुरेशकुमार राईको भनाइ छ ।
हाल महानगर क्षेत्रभित्र करिब १ हजार ३०० किलोमिटर सडक सञ्जाल छ । यसमध्ये ८ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर सडक महानगरको स्वामित्वमा छ ।
महानगरका अनुसार हाल वडा नं. २६ लैनचौरबाट वडा नं. १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ रु चार करोड ५५ लाखमा काम भइरहेको छ । वडा नं. २६ लैनचौरबाट वडा नं. २ को लाजिम्पाट, वडा नं. ३ को महाराजगञ्जहुँदै चक्रपथसम्मको खण्डका लागि रु १० करोडमा सम्झौता भइसकेको छ ।
साथै वडा नं. २८ को प्रदर्शनीमार्गमा काम सुरु भइसकेको छ । यसको लागत रु तीन करोड ७८ लाख रहेको छ । वडा नं. ११ को त्रिपुरेश्वरदेखि वडा नं. २२ सुन्धारा, वडा नं. २७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमलहुँदै वडा नं. २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग रु १८ करोडमा सम्झौता भइसकेको छ निर्देशक राईले जानकारी दिए।
महानगरको वडा नं. ४ को बालुवाटार सडक खण्डमा निर्माणका लागि रु छ करोड ३५ लाखमा सम्झौता भएको छ । वडा नं ३२ को तीनकुनेदेखि वडा नं. ९ सिनामङ्गल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगङ्गाहुँदै वडा नं. ८ को गौशालासम्मका लागि रु छ करोड ६९ लाखमा सम्झौता भएको छ । त्यसैगरी वडा नं. १० नयाँबानेश्वरदेखि वडा नं. ९ पुरानो बानेश्वरसम्मका लागि रु ३ करोड २३ लाख बजेट बिनियोजन गरिएको छ ।
वडा नं. २८ को बागबजारदेखि वडा नं. २९ चारखाल, वडा नं. ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा नं. ९ को पुरानो बानेश्वर, वडा नं. ३१ को भीमसेनगोलाहुँदै वडा नं. ९ को सिनामङ्गल सडक खण्डका लागि रु १० करोड बजेट छुट्याइएको छ ।
साथै वडा नं. १३ को कालीमाटीदेखि सोल्टीमोडहुँदै वडा नं. १४ को कलङ्कीसम्म, वडा नं ८ को गौशालादेखि वडा नं. ७ को चावहिलसम्म, वडा नं ८ गौशालादेखि वडा नं. ९ रातो पुलसम्मको सडक खण्डलाई १० करोड खर्च हुने अनुमान गरिएको छ ।
अन्य केही सडकका पनि कतै सम्झौता अन्तिम चरणमा पुगेको छ भने कतै काम सुरु भइसकेको विभागले जानकारी दिएको छ । चालु आवमा महानगरले पूर्वाधार निर्माण तथा सुधारका लागि रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार बजेट विनियोजन गरेको छ ।