मेलम्चीको खानेपानीको नयाँ ‘हेडवर्क’ एक किलोमिटर सार्नुपर्ने

काठमाडौं । तीन वर्ष पहिले क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क’ अहिलेको संरचनाभन्दा केहीमाथि सार्नुपर्ने भएको छ । निर्माणाधीन ‘हेडवर्क’ मा तीन वर्ष पहिले बाढीले क्षति पुर्‍याएको थियो ।

क्षतिपछि दातृ निकाय एशियाली विकास बैंक (एडीबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा त्यसलाई स्थानान्तरण गर्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ ।

बैंकले अध्ययन गरेसकेको भए पनि अध्ययन पश्चात् सिफारिस आउन बाँकी रहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अध्ययन प्रतिवेदनले हेडवर्क स्थानान्तरण गर्नुपर्ने भनेपछि सोही आधारमा स्थानान्तरण गरिने उनले बताए ।

नयाँ हेडर्वक निर्माण गर्दा पहिलाकोसँगै थप संरचना पनि आवश्यक पर्ने पन्तको भनाइ थियो । नयाँ हेडवर्कबाट मुख्य सुरुङसम्म आउने गरी एउटा सुरुङ बनाउनु पर्ने देखिएको बताउँदै उहाँले अध्ययनको सुझावका आधारमा निर्णय हुन बाँकी रहेको जानकारी दिए ।

आयोजना स्थलमा कुनै पनि संरचनाको पुनःनिर्माणका लागि सबैभन्दा पहिले पहुँच मार्ग (सडक) आवश्यक रहेको भन्दै सूचना अधिकारी पन्तले तीन वर्ष पहिले आएको बाढीले मेलम्चीबाट आयोजना स्थलसम्मको सडक बगाएको बताए । स्थानीय पालिका र आयोजनाको समन्वयमा अस्थायी रुपमा आवतजावतका लागि सडक खुलाइए पनि यस वर्षको बाढीले उक्त सडक पनि बगाएको उहाँले जानकारी दिए ।

आयोजनामा सबैभन्दा पहिले प्रवेशमार्ग बनाउनुपर्ने बताउँदै यससम्बन्धी निर्णय आएपछि मात्रै काम हुने पन्तको भनाइ थियो । उनका अनुसार यसअघि निर्माण भएको हेडवर्क भन्दा झण्डै एक किलोमिटर भित्र बनाउनुपर्ने छ ।

मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा ल्याउने गरी सुरु गरिएको आयोजना दुई दशक नाघेपनि सम्पन्न भइसकेको छैन । आयोजनाले अम्बाथानबाट सुन्दरीजलसम्मको मुख्य सुरुङ, पानी डाइभर्ट गर्नका लागि हेडवर्क र सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो । ती संरचनामध्ये हालसम्म सुरुङ र प्रशोधन केन्द्र पूर्ण रुपमा सम्पन्न भएर तीन वर्ष पहिलेदेखि पानी वितरणका लागि सञ्चालनमा छन् ।

हेडवर्क भने सम्पन्न नहुँदै बाढीका कारण क्षतिग्रस्त भएको आयोजना कार्यालयले जनाएको छ । हेडवर्क प्रयोग गर्न नमिलेपछि यसअघि आयोजनाले अस्थायी बाँधमार्फत पानी ल्याउने गरेको थियो ।

नेप्सेमा उच्च अंकको गिरावट, सेयर कर्जाको सीमा बढाउँदा पनि लगानीकर्ता भएनन् उत्साही Read Previous

नेप्सेमा उच्च अंकको गिरावट, सेयर कर्जाको सीमा बढाउँदा पनि लगानीकर्ता भएनन् उत्साही

तत्काल कर्जाको माग बढ्ने छैन छाँट, महँगोमा निक्षेप उठाउँदा बैंकलाई उल्टो तनाव Read Next

तत्काल कर्जाको माग बढ्ने छैन छाँट, महँगोमा निक्षेप उठाउँदा बैंकलाई उल्टो तनाव