मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले निर्यात प्रतिबन्धका बावजुद पनि थोक पेट्रोलको मूल्य निरन्तर बढ्दै गएकाले इन्धनको मूल्य वृद्धिप्रति ‘तत्काल’ थप प्रतिक्रिया दिन सरकारसँग आग्रह गरेका छन् ।
रुसी सरकारले गत हप्ता घरेलु बजारलाई ‘स्थिर’ बनाउन पेट्रोल र डिजेल इन्धनको निर्यातमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।
पुटिनले भने, ‘हामी प्रस्तावित उपायहरुले काम गर्ने तथ्यमा भरोसा गर्नेछौं र मूल्य घटाउनका लागि तेल कम्पनीहरुसँग अझ नजिकबाट काम गर्न सरकारलाई आह्वान गर्दछौं,’ पुटिनले आफ्नो मन्त्रीपरिषदका सदस्यहरुसँग भने, ‘हामीले उनीहरुलाई सावधानीपूर्वक व्यवहार गर्नुपर्छ, तर पनि म तपाईंहरुलाई भइरहेका घटनाहरुप्रति तत्काल प्रतिक्रिया जनाउन आग्रह गर्दछु ।’
गत साता उच्च स्तरमा पुगेकोे रुसी पेट्रोलको बजार मूल्य निर्यात प्रतिबन्धका बावजुद मंगलबार फेरि वृद्धि भएको छ । कमजोर रुबल, विश्वव्यापी तेलको मूल्यमा वृद्धि र तेल प्रशोधन कम्पनीहरुमा मर्मत कार्यले आपूर्तिमा आएको न्यूनता मूल्य वृद्धिको कारण भएको विश्लेषकहरुले औंल्याएका छन् ।
केही क्षेत्रका किसानले कृषि यन्त्रका लागि आवश्यक पर्ने इन्धनको अभावका कारण अन्न बाली काट्न नपाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।रुसको केन्द्रीय बैंकले सन् २०२३ को उत्तराद्र्धमा आर्थिक वृद्धि दर सुस्त हुने चेतावनी दिएपछि इन्धनको मूल्य वृद्धि भएको हो ।
रुसी अधिकारीहरुले लगातार उच्च मुद्रास्फीति र कमजोर रुबलको बावजुद युक्रेनमा मस्कोको सुस्त आक्रमणबाट परेकोे आर्थिक प्रभावलाई धेरै हदसम्म बेवास्ता गरेका छन् ।