पोखरासँग जोडियो ७२ किमी लामो ‘मिलेनियम ट्रेक’

गण्डकी । पदयात्रा पर्यटनमा चासो र चर्चा कमाउँदै गएको नेपालको मध्यपहाडी क्षेत्रको एकमात्र सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पोखरा महानगरपालिकासँग पनि जोडिएको छ । सन् २००० देखि सञ्चालनमा आएको तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको उक्त पदमार्गले यसअघि पोखरा महानगरपालिकालाई छोएको थिएन ।

पदमार्गको हालै गरिएको नयाँ नक्शाङ्कनले पोखरा महानगरपालिकासँग पनि जोडिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए । ‘यसअघि सन् २०१२ मा गरिएको नक्शाङ्कनमा पोखरा मिलेनियम ट्रेकसँग जोडिएको थिएन,’ उनले भने, ‘उक्त नक्शाङ्कनमा केही समेट्नै पर्र्ने स्थान छुटेकाले पुनः नक्शाङ्कन गरिएको हो, यसको प्रारम्भिक खाका (ड्राफ्ट) आइसकेको छ ।’

पुनः नक्शाङ्कन कार्य भूगोल विषयका सहप्राध्यापक डा रामजी पोखरेलको नेतृत्वमा तयार गरिएको जानकारी दिँदै गुरुङले यसलाई चाँडै नै अन्तिम रुप दिएर सार्वजनिक गरिने बताए । नयाँ नक्शाङ्कनमा पोखरा महानगरपालिका–३३ को भरतपोखरीबाट निर्मलपोखरी, स्याङजाको टक्सार हुँदै शुक्ला गण्डकी नगरपालिका–१२ लामागाउँ जोडिएको उनले जानकारी दिए ।

योसँगै मिलेनियम ट्रेकमा पछिल्लो समयमा कृषि पर्यटनका विषयमा चर्चा कमाएको भरत पोखरीको बागमाराबाट पदयात्री मिलेनियम ट्रेकको लामागाउँ खण्डमा जोडिन सक्ने गुरुङको भनाइ थियो । ‘यसले भरत पोखरी र निर्मल पोखरीका पर्यटकीय गन्तव्यलाईसमेत प्रवद्र्धन गर्ने भएको छ,’ उनले भने, ‘नयाँ नक्शाङ्कनले प्रचारप्रसारको अभावमा ओझेलमा परेका भरत पोखरीको मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोट, बरपाण्डेथुमको महारुद्रथान फोक्सिङकोट आदि धार्मिक एवम् पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।’

समितिका महासचिव गुरुङका अनुसार नयाँ नक्शाङ्कनमा यस अघि छुटेका तनहुँकै धार्मिक पर्यटकीयस्थल च्यवनधाम, वंशु पार्क, तमु हिल पार्क आदि सांस्कृतिक एवम् ऐतिहासिकस्थल समेटिएका छन् । समुद्री सतहबाट ४२० मिटरदेखि १ हजार ७१५ मिटर उचाइसम्ममा रहेको यो पदमार्ग उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि पनि उपयुक्त मानिन्छ ।

पदमार्गको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले रू १० लाख तथा पदमार्गमा सिँढीबाटो निर्माणका लागि रू ५० लाख छुट्याएको छ । चालु आर्थिक वर्षमा मिलेनियम ट्रेकका लागि गण्डकी प्रदेश सरकारले रू २० लाख विनियोजन गरेको महासचिव गुरुङले जानकारी दिए । रासस

तेल उत्पादक रुसमै बढ्न थाल्यो पेट्रोलको भाउ, मूल्य वृद्धि रोक्न राष्ट्रपतिको निर्देशन Read Previous

तेल उत्पादक रुसमै बढ्न थाल्यो पेट्रोलको भाउ, मूल्य वृद्धि रोक्न राष्ट्रपतिको निर्देशन

एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड Read Next

एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड