काठमाडौं । मनाङका किसानद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ । कलाकार स्वस्तिमा खड्का लगायत अन्य पत्रकारहरूको उपस्थितिमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो ।
अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्र लन्च हुने गरेकोमा मनाङ बेभरेजले भने ३५०० मिटरको उचाइमा रहेको साब्जे लेकमा आफ्नो नयाँ वाइन सार्वजनिक गरेको हो । यो अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा सार्वजनिक गरिएको उत्पादन हो ।
मनाङ बेभरेजका डाइरेक्टर आश्रय रंजितकारले स्थानीय स्तरमा उत्पादित स्याउबाट अत्याधिक प्रविधि प्रयोग गरी तयार गरिएको मनाङ भ्याली वाइन ग्राहक माझ ल्याउन पाउँदा उत्साहित भएको बताए ।
‘हिमालयको शुद्धता र मौलिकपनाबाट प्रभावित भएर हामीले मनाङ भ्याली वाइन बजारमा ल्याएका छौँ । स्थानीय स्तरमा उत्पादित स्याउहरूबाट अत्याधिक प्रविधि प्रयोग गरी तयार गरिएको मनाङ भ्याली वाइन तपाईँहरू माझ ल्याउन पाउँदा हामी उत्साहित छौँ । विदेशी वाइन चाख्ने बानी परेका नेपाली उपभोक्ताहरूले नेपाली स्वादको वाइन पक्कै पनि मन पराउनुहुनेछ भन्ने हामीलाई विश्वास छ,’ उनले भने ।
प्रकृति र संस्कृतिको कलात्मक सम्मिश्रणले सजीसजाउ मनाङ भ्यालीमा स्थानीय किसानहरूद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइनको स्वाद पनि उत्तिकै बेजोड रहेको कम्पनीले जानकारी दिएको छ । मनाङ भ्याली वाइनले पर्यटकीय गन्तव्यको रुपमा मात्र चिनिएको मनाङ भ्यालीलाई एउटा अलग पहिचान प्रदान गर्दै मनाङको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान गर्ने कम्पनीको दाबी छ । मनाङ भ्याली वाइनको आगमनले स्थानिय रुपमा उत्पादित सामाग्रीहरूको प्रयोगबाट नै विश्वस्तरीय उत्पादन बनाउन सकिन्छ भन्ने कुराको पनि उत्कृष्ट उदाहरण दिएको छ ।
मनाङ भ्याली वाइन ह्वाइट कलरमा स्वीट र सेमी स्वीट भर्सनमा उपलब्ध छ ।