काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ग्रेडमा सुधार भएको छ । विश्व चर्चित अमेरिकी पत्रिका ग्लोबल फाइनान्सले सार्वजनिक गरेको ‘सेन्टर बैंकर रिपोर्ट कार्ड २०२३’ अनुसार अधिकारीले ‘बी माइनस’ ग्रेड पाएका हुन् ।
अघिल्लो वर्ष सन् २०२२ मा ग्लोबल फाइनान्सले अधिकारीलाई ‘सी’ ग्रेड दिएको थियो । ग्लोबल फाइनान्सले अर्थतन्त्र सुधार्न, महँगी नियन्त्रण गर्न लगायत काममा केन्द्रीय बैंकले खेलेको भूमिकाका आधारमा गभर्नरहरूलाई ग्रेड दिएको हो ।
ग्लोबल फाइनान्सले गभर्नर अधिकारीले सन् २०२३ को पहिलो ८ महिनामा देशका प्रमुख वित्तीय सूचकहरु ‘सही बाटोमा’ ल्याएको उल्लेख छ । यस वर्ष आर्थिक रुपमा महत्वपूर्ण रहेको रेमिट्यान्स २५ प्रतिशतले बढेको, कुल विदेशी मुद्रा सञ्चिति १५ प्रतिशतले बढेर करिब ११ महिनाको आयात धान्न सक्ने बनाएको उल्लेख गरेको छ ।
ब्याजदर बढाएको भन्दै निजी क्षेत्रले अधिकारीको आलोचना गरिरहेका छन् । तर, पछिल्लो तथ्यांक अनुसार ब्याजदर र मुद्रास्फीति घट्दो क्रममा रहेको रिपोर्टमा उल्लेख छ । मुद्रास्फीति अघिल्लो वर्ष ८.६ प्रतिशत रहेकोमा जुलाइमा ७.४५ मा झरेको पत्रिकाले जनाएको छ ।
निजी क्षेत्र र सरकारले समेत गभर्नर अधिकारीले लिएकै नियन्त्रणकारी नीतिका कारण अर्थतन्त्रमा समस्या देखिएको आरोप लगाउँदै आएका छन् । उनीमाथि मुख्य गरी चालु पूँजी कर्जामा कडाइ गरेको, बैंकदर बढाउँदै ब्याजदर बढाएको, घरजग्गा र सेयर बजारमा अनावश्यक अंकुश लगाएको, राजनीतिक प्रभावमा सरकारलाई असहयोग गरेको लगायत आरोप लागेका छन् ।
भारतसहित तीन देशका गर्भनर विश्वकै उत्कृष्ट
यस वर्ष भारतसहित विश्वका तीन देशका गर्भनरहरूले विश्वकै उत्कृष्ट बैंकर अर्थात् ‘ए प्लस’ ग्रेड पाएका छन् । भारत, स्वीट्जरल्याण्ड र भेतनामका गभर्नरले ए प्लस ग्रेड पाएका हुन् ।जसमा भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास, स्वीट्जरल्याण्डका थोमस जे जोर्डन र भेतनामका न्गुयेन थाइ होङ रहेका छन् ।
यसैगरी, यस वर्ष विश्वका ८ देशका गभर्नरले ए ग्रेड पाएका छन् । ब्राजिलका रोबर्टो फिल्ड्स नेट, इजरायलका अमीर यारोन, मौरिससका हरवेश कुमार सिगोलम, न्यूजील्याण्डका एड्रियन ओर, पाराग्वेका जोस स्टोन माउन्टेन, ताइवानका चिन लांग यांग र उरुग्वे डिएगो ल्याबटले ए प्लस पाएका छन् ।
ग्लोबल फाइनान्स पत्रिकाले सन् १९९४ देखि हरेक वर्ष केन्द्रीय बैंकर रिपोर्ट कार्ड प्रकाशित गर्दै आएको छ । यसले युरोपेली संघ, पूर्वी क्यारिबियन केन्द्रीय बैंक, मध्य अफ्रिकी देशहरुका सेन्ट्रल बैंक र पश्चिम अफ्रिकी राष्ट्रहरुको केन्द्रीय बैंक सहित विश्वका १०१ वटा प्रमुख देश र क्षेत्रहरुका केन्द्रीय बैंकका गभर्नरहरुलाई ग्रेड दिँदै आएको छ ।
मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याज दर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’सम्म ग्रेड प्रदान गरेको छ । जसमा एले उत्कृष्ट प्रदर्शन र एफले पूर्ण रूपमा असफलतालाई जनाउँछ ।