नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बढाइयो, अब बिजुली खेर नजाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका-१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता बढाएको छ ।

यसअघि २२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेकोमा २०० एमभीएको अटो ट्रान्सफर्मर थप गरी ३०० एमभीए पर्याइएको हो ।

थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती प्रसारण लाइन आयोजनाअन्तर्गत सबस्टेसनको क्षमता वृद्धि गरिएको हो ।

१३२ केभी प्रसारण लाइनबाट आएको विद्युत्‌लाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ । १३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सबस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो ।

तामाकोशी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सबस्टेसनको क्षमताले नधान्ने अवस्था थियो । यसले गर्दा मुख्य रुपमा लिखू नदीमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरुको विद्युत् पूर्ण रुपमा प्रवाह हुन सकिरहेको थिएन ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसनको क्षमता बढाइएसँगै तामाकोशी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर नजाने बताए ।

‘तामाकोशी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सबस्टेसनको क्षमताले नधान्ने अवस्था थियो  । यसले गर्दा मुख्य रुपमा लिखू नदीमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरुको विद्युत् पूर्ण रुपमा प्रवाह हुन सकिरहेको थिएन,’ उनले भने ।

उनले नयाँ खिम्ती सबस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै लिखु नदी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाहरूले बेहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताए ।

२२० केभीको नयाँ खिम्ती सबस्टेसन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरेको थियो । उक्त आयोजनाले १०० एमभीएको मात्र पावर ट्रान्सफर्मर राखेको थियो । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको १३२/३३/११ केभीको सबस्टेसन गत असारबाट सञ्चालित छ । नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७मा सुरु गरिएको थियो । सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ रहेको छ ।

ग्लोबल आइएमईको क्रेडिट कार्डकाे पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक पाइने Read Previous

ग्लोबल आइएमईको क्रेडिट कार्डकाे पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक पाइने

गभर्नर अधिकारीको ग्रेडमा सुधार, पाए 'बी माइनस' Read Next

गभर्नर अधिकारीको ग्रेडमा सुधार, पाए 'बी माइनस'