महानगरको श्रम बैंकमा ४०० आवेदन, श्रमिकको वर्गीकरण गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमा ४०० आवेदन परेको छ । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार हालसम्म ४०० आवेदन परेको कामपा प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिए ।

उनका अनुसार कामपाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो, सोहीअनुसार महानगरले आवेदन माग गरेको हो ।

यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुने प्रमुख राईले जानकारी दिए ।

उनले भने, ‘कामपा केन्द्रमा एक महिनामा ४०० आवेदन परेको छ । कामपाका ३२ वटै वडामा पनि केही आवेदन आएको जानकारी प्राप्त भएको छ । कामपाले अहिले श्रम बैंक सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको छ । सङ्कलन भएका आवेदनबाट प्राथमिकीकरण, वर्गीकरणको काम पनि भइरहेको छ ।’

प्रमुख राईका अनुसार बेरोजगारका लागि एउटा आधार तयार गरिदिएको भन्दै, श्रम बैंकमा आबद्ध भएका श्रमिकलाई कामपाले मात्रै नभएर आवश्यकताअनुसार जोसुकैले पनि प्रयोग गर्न सक्नेछन् ।

कामपाले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम लिस्ट हुन्छ । जहाँ श्रमिकको ज्याला दर, कामको प्रकार फोन नम्बर र श्रमिक कहाँ बस्नेसमेत उल्लेख गरिएको हुन्छ । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको सहजरूपमा श्रमिक उपलब्ध गराई सीप, क्षमता भएका श्रमिकलाई काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गरी रोजगार दिलाउनु हो ।

कामपाले चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत भर्नुपर्ने छ । आवेदन फारममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएको छ । फारम आफू बसेको वडा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउन पर्नेछ ।

श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौँमा बसोबास भएको हुनुपर्ने बताइएको छ । यस कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ । यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ ।

माछापुच्छ्रे बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

माछापुच्छ्रे बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

सिद्धबाबा सुरुङमार्ग निर्माणले लिएन गति, पूर्व तयारीको काम हुँदै Read Next

सिद्धबाबा सुरुङमार्ग निर्माणले लिएन गति, पूर्व तयारीको काम हुँदै