सिद्धबाबा सुरुङमार्ग निर्माणले लिएन गति, पूर्व तयारीको काम हुँदै

काठमाडौं । सिद्धार्थ राजमार्गको पाल्पास्थित सिद्धबाबा सुरुङमार्ग निर्माणमा ढिलाइ भएको छ । ठेक्का सम्झौता भएको डेढ वर्ष बित्दा समेत साइट क्लियरेन्स र पूर्वतयारीको काम सकिएको छैन ।

हालसम्म आयोजना अन्तर्गत रुख कटानको काम बाँकी रहेको छ । सडक सीमाभित्र पर्ने रुख कटान गर्न स्वीकृतीका लागि वन विभागसँग समन्वय गर्ने काम भइरहेको सडक विभागले जानकारी दिएको छ ।

सडक विभागका प्रवक्ता रामहरी पोखरेलका अनुसार हाल आयोजनामा सुरुङ खन्नु अगाडि हुने पूर्वतयारीको काम भइरहेको छ । उनले सुरुङमार्गको दक्षिण र उत्तर प्रवेशद्धारमा स्लोप कटिङको काम भइरहेको बताए ।

‘आयोजनाको सीमा भित्र पर्ने रुख कटानका लागि वन विभागसँग समन्वय गरिरहेका छौं । सँगसँगै अहिले सुरुङ खन्नु अगाडि सुरक्षाको लागि गर्नुपर्ने पूर्व तयारीका कामहरू भइरहेको छ,’ उनले भने ।

सिद्धबाबा सुरुङमार्ग निर्माण योजना अन्तर्गत उत्तरी प्रवेशद्धारमा सब–होराइजेण्टल स्टिल ट्युब जडान गर्ने काम पूरा भएको उनले बताए । आयोजनामा हालसम्म श्रमिकका लागि भवन निर्माण, ब्याचिङ प्लाण्ट जडान, साइट क्याम्प, तार जडान, सिमेन्ट सिलोस ट्यांक निर्माणको काम भइसकेको छ ।

यस्तै, आयोजनामा आवश्यक पर्ने विष्फोटक पदार्थ समेत ल्याउने तयारी भइरहेको छ । सो विष्फोटक पदार्थ भारत र चीनबाट ल्याउने तयारी भइरहेको आयोजनाले जनाएको छ ।

५ वर्षमा सम्पन्न गर्नुपर्ने उक्त सुरुङमार्गको अझै सुरुङ खन्ने कामले भने गति लिन सकेको छैन । सुरुङको प्रवेशद्धारमा पोर्टल खन्न सुरु गरिए पनि गत साउन ९ गते गएको पहिरोका कारण पुरिएको थियो । सो पहिरो हटाउने काम भइरहे पनि बर्खाका कारण सुरुङ खन्ने काम गर्न नसकिएको आयोजनाले बताएको छ । अब बर्खा सकिएपछि सुरुङ खन्ने कामले गति लिने प्रवक्ता पोखरेलले बताए । चालु आर्थिक वर्ष २०८०/८१ भित्र सिद्धबाबा सुरुङमार्गमा ४०० मिटर सुरुङ खन्ने लक्ष्य राखिएको छ ।

कुल १ हजार १२६ मिटर लामो यो सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । यस मोडलमा ठेकेदार कम्पनीले नै डिजाइन, खरिद, निर्माण र तोकिएको समयसम्म सञ्चालन र मर्मतसम्भार समेत गर्नुपर्छ ।

सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का पाएको हो । ठेक्का सम्झौता अनुसार २२ मार्च २०२७ भित्र सुरुङ निर्माण सम्पन्न गर्नुपर्नेछ ।

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा सिद्धबाबाको मन्दिरको उत्तरतर्फ चिडियाखोला नजिकै सुरुङमार्गको एउटा पोर्टल रहनेछ । चिडियाखोलाको खोँच हुँदै दोभान नजिकै निस्कने छ ।

निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्गका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको निर्माण लुम्बिनी प्रदेशसँगै देशको पूर्वाधार विकासका हिसाबले महत्वपूर्ण छ । बाह्रै महिना खस्ने पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा सुरुङ निर्माण गर्न लागिएको हो ।

नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ले पहिरोको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ । सुरुङ दुई लेनको हुनेछ । यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई ‘रकसेड’बाट पठाउने गरी योजना बनाइएको छ । ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु सवारीसाधन सुरुङबाटै जानेछन् ।

सुरुङमार्गले गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङलगायत दर्जन बढी जिल्लासीलाई सुविधा पुग्नेछ । सुरुङ सञ्चालनमा आएपछि सम्भावित दुर्घटना कम गराउन र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महानगरको श्रम बैंकमा ४०० आवेदन, श्रमिकको वर्गीकरण गरिँदै Read Previous

महानगरको श्रम बैंकमा ४०० आवेदन, श्रमिकको वर्गीकरण गरिँदै

ऊर्जा क्षेत्रको विकासका लागि ८५ बुँदे कार्यक्रम तय Read Next

ऊर्जा क्षेत्रको विकासका लागि ८५ बुँदे कार्यक्रम तय