अर्थतन्त्र सुधारोन्मुख : आयात १० प्रतिशतले घट्दा निर्यात १४ प्रतिशतले बढ्यो

काठमाडौं । समग्र देशको अर्थतन्त्र सुधारोन्मुख दिशातर्फ अघि बढ्न थालेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकलले व्यापार घाटामा सुधार भएको देखाएको छ ।

 

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आयात १०.३ प्रतिशतले घटेको छ भने निर्यात १४.४ प्रतिशतले बढेको छ।राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तीय स्थितिअनुसार तीन महिनामा कूल ३ खर्ब ३४ अर्बको वस्तु आयात भएको छ। यस्तै तीन महिनामा कूल २७ अर्ब १७ करोडको वस्तु निर्यात भएको छ।

 

ती महिनाको मुलुकको व्यापार घाटा ३ खर्ब ७ अर्ब छ। गत वर्षको यस अवधिको तुलनामा व्यापार घाटा १२ प्रतिशतले घटेको हो।यस अवधिमा भारतबाट हुने आयात १२.२ प्रतिशतले घटेको छ भने अन्य मुलुकबाट हुने आयात १९.१ प्रतिशतले घटेको छ। चीनबाट हुने आयात भने ११.६ प्रतिशतले बढेको छ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरुमा पाम ओयल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो लगायत परेका छन्। पाम तेल, हटरोल सिट, मेसिनरी तथा पार्टपूर्जा, विद्युतीय उपकरण तथा सोलार प्यानल लगायत बस्तुको आयात बढेको छ। हवाईजहाज तथा पार्टपूर्जा, एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपूर्जाको आयात घटेको छ।

 

शोधनान्तर स्थितिमा सुधार

 

तीन महिनाको अवधिमा मुलुकको व्यापार घाटा घटेसँगै भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) बचतमा आएको छ। राष्ट्र बैंकका अनुसार यस अवधिमा भुक्तानी सन्तुलन १४ अर्ब ४३ करोड बचतमा छ।

 

तीन महिनामा प्रत्येक्ष वैदेशिक लगानी ४ अर्ब भित्रिएको छ। पूँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड छ। गत वर्षको यस अवधिमा यस्तो रकम ३ अर्ब ५५ करोड थियो।समीक्षा अवधिमा चालू खाता घाटा २७ अर्ब १८ करोड छ। अघिल्लो वर्ष यस अवधिमा ८१ अर्ब ७४ करोड थियो।

 

मुलुकको विदेशी विनिमय सञ्चितीमा सुधार आएको छ। तीन महिनामा यस्तो सञ्चिती ४.७ प्रतिशतले बढेर १० खर्ब ८७ अर्ब पुगेको छ। यो सञ्चितीले ९.८ महिनाको धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

समिटले ल्यायो १८ सिटको नयाँ जहाज Read Previous

समिटले ल्यायो १८ सिटको नयाँ जहाज

भोक कम भएको छैन, रोटी नपाएर सुस्ताएको हो : मनोज ज्ञवालीको विचार Read Next

भोक कम भएको छैन, रोटी नपाएर सुस्ताएको हो : मनोज ज्ञवालीको विचार