अब फूडमाण्डुमा ५०० रुपैयाँभन्दा कमको पनि अर्डर गर्न सकिने, डेलिभरी शुल्क घट्यो

काठमाडौं । फूडमाण्डुमा अब ५०० रुपैयाँभन्दा कम मूल्यको खाना पनि अर्डर गर्न सकिने भएको छ । कम्पनीले यसअघिको कम्तीमा पनि ५०० रुपैयाँको खाना अर्डर गर्नुपर्ने व्यवस्था हटाएको हो ।

यससँगै अब ग्राहकहरूले जतिसुकै रकमको अर्डर गर्न सक्नेछन् । ग्राहकको सुझावलाई मध्येनजर गर्दै यसअघिको नीति परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।

यस्तै, कम्पनीले छोटो दूरीमा हुने फूड डेलिभरी शुल्क पनि घटाएको छ । अहिले छोटो दूरीको डेलिभरी चार्ज न्यूनतम ५० रुपैयाँ तिर्दै आएकोमा अब उपभोक्ताले १.५ किलोमिटरसम्मको २५ रुपैयाँ र सोभन्दा माथिको दूरीको प्रतिकिलोमिटर थप २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यद्यपि, १ हजार रुपैयाँभन्दा बढीको अर्डरको लागि भने जतिसुकै लामो दूरीमा पनि बढीमा ७५ रुपैयाँ डेलिभरी शुल्क तोकिएको छ ।

फूडमाण्डूका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले ग्राहकलाई फाइदा हुने गरी कम्पनीको नीति परिवर्तन गरिएको बताए ।

‘रु ५०० को न्यूनतम अर्डर गर्नुपर्ने बाध्यतालाई हामीले सदाको लागि हटाएका छौँ । साथै हामीले हाम्रो डेलिभरी शुल्कमा पनि ग्राहकवर्गलाई फाइदा हुनेगरी केही हेरफेर गरेका छौँ । आजसम्म हामीलाई साथ दिनुहुने र माया गर्नुहुने उपभोक्ताहरुको सुझाव र प्रतिकृयालाई प्राथमिकतामा राख्दै हामीले यो कदम चालेको छौँ । हामीलाई आशा छ कि हाम्रो यो निर्णयले हाम्रा उपभोक्तालाई अझै राम्रो सेवा प्रदान गर्नेछ,’ उनले भने ।

सन् २०१०देखि संचालनमा आएको फूडमाण्डु नेपालको पहिलो फूड डेलिभरी कम्पनी हो । फूडमाण्डुले हालसम्म ४ लाखभन्दा बढी ग्राहकहरुलाई ८ सयभन्दा बढी रेष्टुरेन्टहरुमार्फत काठमाडौं उपत्यका र पोखरामा सेवा प्रदान गर्दै आएको छ ।

आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन पाइने Read Previous

आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन पाइने

नेप्सेले गर्‍यो कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेले गर्‍यो कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट