काठमाडौं । भिस्तारा एयरलाइन्सले काठमाडौं-दिल्ली-हङकङ दुईतर्फी उडान गर्ने भएको छ । टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानीको भिस्तारले आगामी १५ कात्तिकदेखि काठमाडौं-दिल्ली-हङकङ दुईतर्फी उडान सुरु गर्ने भएको हो ।
आफ्नो उडान योजना सार्वजनिक गरेसँगै एयरलाइन्सले टिकट बुकिङ समेत खुला गरेको छ । यात्रुले अब मोबाइल एप्स, वेबसाइट र ट्राभल एजेन्सीमार्फत टिकट बुकिङ गर्न सक्नेछन् ।
यस उडानका लागि भिस्ताराले ए ३२० न्यारोबडी जहाज प्रयोग गर्ने जनाएको छ । एयरलाइन्सका नेपालस्थित कार्यकारी अधिकृत प्रशन्न अधिकारीले भिस्ताराले आगमी १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्न लागेको र टिकट बुकिङ समेत खुलाइएको जानकारी दिए ।
उनले यो रुटको उडानले काठमाडौंबाट दिल्ली हुँदै हङकङ र हङकङबाट दिल्ली हुँदै काठमाडौं आउजाउ गर्न चाहने यात्रुका लागि सहज र लाभदायी हुने बताए ।
भिस्ताराले हाल काठमाडौं–दिल्ली नियमित उडान भर्दै आएको छ । भिस्ताराले यात्रुका लागि २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ । एयरलाइन्सले ‘स्पा’ सुविधा होटल सोल्टी र र्याडिसनस्थित ‘ट्रयाङ्कुलिटी स्पा’मा उपलब्ध गराउँदै आएको छ ।
भिस्ताराले नेपालसहित विश्वका विभिन्न ३० गन्तव्यमा नियमित उडान भर्दै आएको छ ।