काठमाडौं । विश्व बजामा कच्चा तेलको भाउ लगातार उकालो लागेको छ । जुलाईदेखि लगातार बढ्न थालेको कच्चा तेलको मूल्य ११ महिना यताकै उच्च पुगेको हाे।
पछिल्लो साढे दुई महिनामै कच्चा तेलको भाउ औसतमा २५ प्रतिशतले बढेको छ । बजारमा तेलको माग बढ्दा र ठूला उत्पादकले उत्पादन कटौती गर्दा मूल्य लगातार आकाशिएको हो ।
आयल प्राइसका अनुसार आइतबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ बढेर प्रतिब्यारेल ९४.७१ डलर पुगेको छ । यो सन् २०२२ को अक्टोबर यताकै उच्च हो । गत अप्रिलमा घटेर ब्रेन्टको भाउ प्रतिब्यारेल ७१ डलरसम्म झरेको थियो ।
यसैगरी, आज ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ प्रतिब्यारेल ९१.६१ डलर पुगेको छ । दुई महिना अघि यसको भाउ प्रतिब्यारेल ७३ डलर थियो । यस्तै, मुर्बान क्रुड आयलको भाउ प्रतिब्यारेल ९६.३५ डलर पुगेको छ ।
अहिले विश्व बजारमा कच्चा तेलको मूल्य बढ्नुमा मुख्यतः दुई कारण रहेको आयल प्राइसले जनाएको छ । अमेरिकाको इनर्जी इन्फर्मेसन प्रशासनका अनुसार तेलको माग बढ्दा अमेरिकाको तेल मौज्दात घटेको छ । जसले कच्चा तेलको मूल्य ह्वात्तै बढेको हो ।
त्यसैगरी, आगामी अक्टोबर महिनादेखि विश्वकै दुई ठूला तेल उत्पादकहरु साउदी अरेबिया र रुसले कच्चा तेलको उत्पादनमा कटौती गर्ने तयारी थालेका छन् । साउदीले दैनिक करिब १० लाख ब्यारेल कटौती गर्ने घोषणा गरिसकेको छ भने रुसले यो साता तेल कटौती बारेको निर्णय गर्ने जनाइएको छ ।
रुस युक्रेन युद्धका बेला सन् २०२२ को मार्चमा विश्व बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो ।
नेपालमा अझै भाउ बढ्ने
नेपालमा पछिल्लो डेढ महिना यता लगातार पेट्रोलियम पद्धार्थको मूल्य बढिरहेको छ । यस अवधिमा मात्रै डिजेल पेट्रोलको भाउ ३ पटक बढीसकेको छ भने आगामी दिनमा पनि अझै बढ्ने संकेत देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्छ । नेपालले अहिले सिधै अन्तर्राष्ट्रिय बजारबाट तेल खरिद नगरी भारतसँग खरिद गरेर ल्याउने गरेको छ । विश्व बजारमा कच्चा तेलको भाउ बढ्दा भारतमा पनि बढ्ने हुनाले त्यसको प्रभाव नेपालमा पनि पर्छ ।
नेपाल आयल निगमले गत साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको छ । सो अनुसार भारतबाट भाउ बढेर आए नेपालमा पनि बढ्ने र घटेर आए घट्ने गर्छ । अहिले विश्व बजारमा भाउ बढिरहेकाले भारतले पनि मूल्य बढाएर पठाउने हुँदा आगामी दिनमा नेपालमा पनि तेलको भाउ बढ्ने सम्भावना देखिन्छ ।