काठमाडौं । नेपाल रिपब्लिक मिडियाको खुद नाफामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १३ लाख २४ हजार ३६१ रुपैयाँ खुदा नाफा कमाएको छ ।
जबकि अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ४ करोड ८२ लाख ८ हजार रुपैयाँ नोक्सानीमा थियो । कम्पनीको आम्दानी बढेसँगै कम्पनीको खुद नाफामा सुधार आएको हो ।
समीक्षा अवधिमा कम्पनीका आम्दानी २८.३८ प्रतिशतले बढेर २६ करोड १ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको प्रशासन खर्च ६ करोड ३७ लाखबाट बढेर ७ करोड ८५ लाख पुगेको छ । त्यस्तै, बिक्री वितरण खर्च भने २ करोड ८० लाखबाट घटेर २ करोड १७ लाख कायम भएको छ ।
हाल ९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ भने ५० करोड ९५ लाख रुपैयाँ ऋणात्मक छ ।
नाफामा सुधार आएसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । अघिल्लो वषै १०.४७ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी गत वर्ष १४ पैसा धनात्मक भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ८८.५३ रुपैयाँ छ ।