कर्जा लगानी गर्न बैंकको रोजाइमा हाइड्रोपावर, एक वर्षमै २५% बढाए लगानी

सांकेतिक तस्वीर ।

काठमाडौं । आर्थिक सुस्तताका बाबजूद जलविद्युत् क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाले हाइड्रोपावरमा कर्जा लगानी २५ प्रतिशतले बढाएका हुन् । संस्थाहरूले गत एक वर्षमा हाइड्रोपावरमा ६० अर्ब २७ करोड रुपैयाँले ऋण लगानी गरेका छन् ।

२०७९ असार मसान्तसम्म जलविद्युत् क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी २ खर्ब ३८ अर्ब रुपैयाँ लगानी रहेकोमा २०८० असार मसान्तसम्म आइपुग्दा २ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो दुई वर्षमा ऊर्जा क्षेत्रमा संस्थाहरूको ऋण लगानी ५० प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७/७८ सम्म कुल २ खर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूले यस क्षेत्रमा कर्जा लगानी गरेकोमा दुई वर्षमा झण्डै एक खर्ब रुपैयाँले लगानी बढाएका हुन् ।

हाइड्रो क्षेत्रमा प्रवाह भएको यो कुल कर्जा लगानीको ६.१२ प्रतिशत हिस्सा हो । गत वर्षसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ४८ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

अर्थतन्त्रमा देखिएको शिथिलताका बाबजुत हाइड्रोपावरमा भने संस्थाहरूको ऋण लगानी व्यापक वृद्धि भएको तथ्यांकले देखाउँछ । एक पटक लगानी गरेपछि लामो अवधिसम्म प्रतिफल दिइरहने भएकाले हाइड्रो सेक्टर बैैंकको लगानीको रोजाइमा पर्ने गरेको छ ।

अर्कोतिर उत्पादनमूलक क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने नियामकीय प्रावधानका कारण पनि बैंकहरू लगानी गर्न बाध्य छन् । बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्दा तोकिएको क्षेत्रमा अनिवार्य तोकिएको न्यूनतम सीमासम्म कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र्र बैंकले व्यवस्था छ ।जसको कारण बैंकहरू यस क्षेत्रमा कर्जा लगानी गर्न आकर्षित देखिएका छन् ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूका लागि कुल कर्जा लगानीको २०७९ असार मसान्तसम्म न्यूनतम ६ प्रतिशत, २०८० असार मसान्तसम्म ७ प्रतिशत, २०८१ असार मसान्तसम्म ८ प्रतिशत र २०८२ असार मसान्तसम्म १० प्रतिशत कर्जा उर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।

अर्कोतिर राष्ट्र बैंकले व्यापार, घरजग्गा, सेयर धितो, सवारीसाधन जस्ता कर्जामा कडाइ गरेसँगै त्यो लगानी उर्जा क्षेत्रतिर डाइभर्ट भएको देखिन्छ । राष्ट्र बैंकले अघिल्लो वर्षदेखि यी क्षेत्रमा लगानी गर्न कडाइ गरेको थियो ।

सेयर धितो कर्जा, सवारी साधन, रियल स्टेट, चालु पूँजी कर्जा र आयात कर्जामा जोखिमभार बढाउँदा कर्जाको माग र लगानी दुवै घटेको छ । मागमा आएको संकुचनका कारण बैंक तथा वित्तीय संस्थाहरूले समग्रमा कर्जा लगानी बढाउन सकेका छैनन् । घरजग्गा, अटो व्यवसाय र सेयर बजार जस्ता क्षेत्र अहिले संकुचन छन् ।

अनुत्पादक मानिने यी क्षेत्रमा बैंकहरूले घटाएको कर्जा लगानी, माग संकुचन र ऋण लगानीमा कडाइका कारण बैंक तथा वित्तीयहरू पनि ऋण लगानी बढाउने अवस्थामा छैनन् ।

बैंकरहरूका अनुसार अन्य क्षेत्रमा कर्जा लगानीको बाटो नहुँदा हाइड्रोपावर प्राथमिकतामा परेको हो । सोही कारण सेयर धितो कर्जा, सवारी साधन र रियलस्टेट कर्जाम गिरावट आउँदा जलविद्युतमा लगानी बढेको उनीहरूको भनाइ छ ।

 

पोखरा विमानस्थलमा भयो दोस्रो अन्तर्राष्ट्रिय उडान Read Previous

पोखरा विमानस्थलमा भयो दोस्रो अन्तर्राष्ट्रिय उडान

रिपब्लिक मिडियाको खुद नाफामा सुधार, रिटेन्ड अर्निङ भने ५० करोड ऋणात्मक Read Next

रिपब्लिक मिडियाको खुद नाफामा सुधार, रिटेन्ड अर्निङ भने ५० करोड ऋणात्मक