काठमाडौं । संचालनमा आएको ८ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ । शनिबार बिहान भुटानको ड्रुक एयरले पोखरा विमानस्थलमा चार्टर्ड उडान गरेको हो ।
आज भुटानको पारोबाट ड्रुक एयरको एयरबस ए ३१९ जहाजले उडान गरेको हो । उक्त विमान बिहान ६ बजेर ४० मिनेटमा पोखरा विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । सो विमान आजै बिहान ८ः०५ बजे फर्किएको छ । सो जहाज विदेशी पर्यटक लिन भुटानबाट पोखरा आएको थियो ।
यसअघि गत असार ६ गते चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो।
अंग्रेजी नयाँ वर्ष २०२३ देखि संचालनमा आएको पोखरा विमानस्थलमा हालसम्म नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।