लाभांशको सिजन सुरू हुँदै, कुन बैंकले कति दिन सक्छन् ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गर्ने सिजन सुरू हुन लागेको छ ।

सूचीकृत एकाध बाहेक अधिकांश कम्पनीहरूले गत वर्षको चौथो त्रैमासको वित्तीय अपरिष्कृत विवरण सार्वजनिक गरिसकेका छन् । अब वित्तीय विवरणमा उल्लेख भएको अनुसार बाँड्न मिल्ने रकम सेयरधनीलाई बाँड्ने छन् ।

सूचीकृत कम्पनीहरूले अघिल्लो आर्थिक वर्ष सकिएको ६ महिना भित्र सो आवको साधरण सभा सम्पन्न गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सो अनुसार साधरण सभा गर्नुअघि कम्पनीहरूले लाभांश बाँड्ने/नबाँड्ने घोषणा गर्दछन् ।

गत वर्षको नाफाबाट अहिले अधिकांश म्युचुअल फण्डहरूले लाभांश घोषणा गरिसकेका छन् । वाणिज्य बैंकतर्फ माछापुच्छ्रे्ले बैंकले पनि गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । भदौ १३ गते बसेको बैंक संचालक समितिको बैठकले सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । तोकिएको पूँजी कोष पुर्याउन नसक्दा माछापुच्छ्रेले लाभांश बाँड्न पाएको थिएन ।

अब क्रमशः अन्य कम्पनीहरूले पनि गत आव २०७९÷८० को मुनाफाबाट लाभांश घोषणा गर्दै जानेछन् । यहाँ हामीले गत वर्षको नाफाबाट वाणिज्य बैंकहरूले कति लाभांश दिन सक्छन् भन्ने विश्लेषण गरेका छौं ।

५ बैंकले लाभांश दिन नसक्ने

गत असार मसान्तसम्म २० वटा वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आव २०७८/७९ को तुलनामा १४ अर्ब रुपैयाँ बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरूले कुल ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

कुल ७० अर्ब खुद नाफा कमाएका वाणिज्य बैंकहरूको वितरण योग्य नाफा ३० अर्ब ३९ करोड रुपैयाँ रहेको छ । यो रकम बैंकहरूले आफ्ना सेयरधनीलाई लाभांशको रुपमा वितरण गर्न सक्छन् । साथै, बैंककहरूले सेयर प्रिमियमबाट संकलन भएको रकमबाट पनि आफ्ना सेयरधनीलाई लाभांश खुवाउन सक्छन् ।

गत वर्षको नाफाबाट २० वटा वाणिज्य बैंकहरू मध्ये आधा दर्जन बैंकले लाभांश बाँड्न नसक्ने देखिएको छ । २० मध्ये २ बैंकले लाभांश नै बाँड्न नसक्ने र अरु ३ बैंकले पनि १ प्रतिशतभन्दा धेरै लाभांश बाँड्न नसक्ने देखिएको छ । प्रायः बैंक तथा वित्तीय संस्थाहरूले १ प्रतिशत लाभांश नबाँड्ने हुँदा यस वर्ष ५ बैंकले लाभांश दिन नसक्ने देखिन्छ ।

गत वर्षको वित्तीय विवरण अनुसार कुमारी र हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । त्यस्तै, प्राइम, प्रभु र इन्भेष्टमेन्ट मेगाको लाभांश क्षमता १ प्रतिशभन्दा कम छ ।

बैंकहरूले वितरण योग्य नाफाबाट लाभांश नबाँड्न पनि सक्छन् । त्यस्तै, राष्ट्र बैंकले तोकेका शर्तहरू पूरा नभएमा पनि लाभांश बाँड्न पाउँदैनन् । अघिल्लो वर्ष पूँजीकोष नपुर्याउँदा लक्ष्मी, एनआइसी, एशिया, माछापुच्छ्रे, सनराइज बैंकले लाभांश बाँड्न पाएका थिएनन् ।

कुनको कति छ लाभांश क्षमता ?

गत वर्षको कमाइबाट वाणिज्य बैंकहरूले औसतमा ११.५१ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेको छ । जसमा एभरेष्ट बैंकले सबैभन्दा धेरै लाभांश बाँड्न सक्ने देखिएको छ । बैंकको वितरण योग्य नाफा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई ४०.५० प्रतिशत लाभांश बाँड्न सक्ने देखिन्छ ।

यस्तै, दोस्रो धेरै लाभांश दिनसक्ने क्षमता एनआइसी एशियाको रहेको छ । विगत ३ वर्षदेखि सेयरधनीलाई कुनै प्रतिफल नदिएको एनआइसीको ३१.९९ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता छ ।

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड, २८.९९, सानिमा १७.७३, कृषि विकास बैंक १४.९२, नबिल १४.६४, नेपाल एसबीआईले १३.९३ प्रतिशत लाभांश बाँड्न सक्छनन् ।

त्यसैगरी, लक्ष्मी सनराइज, ग्लोबल र एनएमबीले ८ प्रतिशत, सिटिजन्सले ७.३०, नेपाल ६.६२ सिद्धार्थले ५.६५ र प्राइम कमर्शियल बैंकले १ प्रतिशत लाभांश बाँड्न सक्छ ।

प्रभु र इन्भेष्टमेन्टको लाभांश क्षमता १ प्रतिशतभन्दा कम रहेको छ भने कुमारी र हिमालयनले लाभांश बाँड्न सक्दैनन् । यी दुई बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।

यद्यपि, बैंकहरूले बाँड्न मिल्ने सबै रकम सेयरधनीलाई नबाँड्न पनि सक्छन् । माछापुच्छ्रेको १५.२९ प्रतिशत लाभांश बाँड्ने क्षमता भए पनि १४ प्रतिशत मात्रै बाँड्ने घोषणा गरेको छ । घोषणा गर्दैमा पनि सेयरधनीले उक्त लाभांश नपाउन सक्छन् । नियामक निकायले रोकदिन सक्छ ।

आजदेखि तातोपानी नाका हुँदै मानिस आवतजावत खुला Read Previous

आजदेखि तातोपानी नाका हुँदै मानिस आवतजावत खुला

सन नेपाल लाइफको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

सन नेपाल लाइफको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा