 
			काठमाडौं । नेपाल उद्योग परिसङ्घले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुसँग आर्थिक क्षेत्रका विषयमा छलफल गरेको छ ।
प्रस्तावित राजदूतहरु संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर वली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी सहभागी भएको अन्तरक्रिया कार्यक्रममा परिसङ्घले आर्थिक ‘एजेन्डा’लाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।
कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह गरे । आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिएर नेपालमा भएको लगानीका अवसरहरुका बारेमा विदेशी लगानीकर्ताहरुलाई जानकारी गराउने महत्वपूर्ण माध्यम राजदूत हुनुपर्नेमा उनले जोड दिए ।
निजी क्षेत्रले व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान गरिरहेको भए पनि नेपाल साँच्चिकै लगानी पवद्र्धन गर्न खोजिरहेको छ भन्ने सन्देश दिन नेपाली राजदूतावासहरुको समन्वयनमा व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गरिनुपर्ने बताए ।
अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रवद्र्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने आवश्यकतामा जोड दिए । यसका लागि परिसङ्घ सहकार्य गर्न तयार रहेको समेत उनले बताए । कुनै पनि मुलुकसँगको सम्बन्ध राजनीतिकभन्दा आर्थिक सम्बन्ध स्थिर एवं बलियो रहेको विश्वको उदाहरण प्रस्तुत गर्दै उनले व्यवसायका माध्यमबाट देशको ‘ब्रान्डिङ’मा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
परिसङ्घले उच्च व्यापार घाटा कम गर्न नेपाली वस्तुहरुको प्रवद्र्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत्, पूर्वाधारमा विदेशी लगानी भित्र्याउने गरी काम गर्नुपर्नेमा जोड दिएको छ ।
अन्तरक्रियामा प्रस्तावित राजदूतहरुले आर्थिक सम्बन्ध विस्तार, निर्यात प्रवद्र्धनमा नै आफूहरुको ध्यान रहने भन्दै देश केन्द्रित सुझाव दिन परिसङ्घलाई आग्रह गरे ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिवहरु शरदराज आरण, डा सुरेन्द्र थापा, परिसङ्घका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वअध्यक्षहरु हरिभक्त शर्मा, शतिशकुमार मोर, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारी सदस्य छाया शर्मा, परिसङ्घ गभर्निङ काउन्सिल सदस्यहरु शशिकान्त अग्रवाल, योगेश्वरलाल श्रेष्ठ, परिसङ्घको नेपाली डायस्पोरा समन्वय समिति सभापति चन्द्र टन्डन, परिसङ्घका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                