काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा उल्लेख्य सुधार आएको छ । अर्थतन्त्रमा आएको संकटका बाबजूद ३.५९ प्रतिशतले व्यवसाय बढाएका निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ४४.७० प्रतिशतले बढेको छ ।
गत असार मसान्तसम्म हाल संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले कुल ५ अर्ब १७ करोड खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब ५९ करोड रुपैयाँ धेरै हो । अघिल्लो वर्ष निर्जीवन बीमा कम्पनीले कुल ३ अर्ब ५७ करोड खुद नाफा कमाएका थिए ।
गत वर्ष निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन करिब ४ प्रतिशतले मात्रै बढे पनि बैंकिङ प्रणालीमा ब्याजदर बढ्दा नाफा बढ्न पुगेको हो । बीमा कम्पनीहरूले ठूलो हिस्सा मुद्दती बचतमा राख्छन् । मुद्दतीबाट प्राप्त हुने ब्याज बढ्दा बीमा कम्पनीहरूको नाफा बढ्न पुगेको हो ।
गत वर्ष १४ वटै निर्जीवन बीमा कम्पनीको नाफा बढेको छ । गत वर्ष सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै ७७ करोड २५ लाख खुद नाफा कमाएको छ भने नेशनल इन्स्योरेन्सले सबैभ्न्दा कम २० करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, गत वर्ष मर्ज भई बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले नाफामा सबैभन्दा ठूलो छलाङ मारेको छ । समीक्षा अवधिमा यसको खुद नाफा १८४.७५ प्रतिशतले बढेको छ । गत वर्ष सिद्धार्थ प्रिमियरको खुद नाफा सबैभन्दा कम ०.८३ प्रतिशतले मात्र बढेको छ ।
नाफामा शिखरलाई ३ कम्पनीले उछिने
निर्जीवन बीमा कम्पनीहरूमा लिडरको रुपमा चिनिने शिखरलाई गत वर्ष खुद नाफामा ३ कम्पनीले उछिनेका छन् । गत वर्ष राष्ट्रिय बीमा कम्पनी, नेको र सगरमाथा लुम्बिनीले शिखरको भन्दा धेरै नाफा कमाएका छन् ।
यस्तै, गत वर्ष हिमालयन एभरेष्ट, ओरेन्टल र नेपाल इन्स्योरेन्सले शिखरको जत्ति नै समान ४० करोड नाफा कमाएका छन् ।
चुक्ता पूँजीमा आइजीआइ अघि, ४ कम्पनीको मात्र पुग्यो
नेपाल बीमा प्राधिकरणले गत असार मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन समय सीमा तोके पनि ४ कम्पनीले मात्र पुर्याउन सकेका छन् । विदेशी कम्पनीका शाखा ओरेन्टल र नेशनलले सो चुक्ता पूँजी पुर्याउनु नपर्ने भए पनि अरु ८ कम्पनीले चुक्ता पूँजी पुर्याउन सकेका छैनन् ।
समीक्षा अवधिमा आइजीआइ प्रुडेन्सियल, शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनीको मात्र चुक्ता पूँजी पुगेको छ । जसमा आइजीआइको सबैभन्दा धेरै ३ अर्ब २ करोड रुपैयाँ छ । यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा कम २६ करोड मात्र छ । अझै प्रभु, नेपाल, नेको, हिमालयन एभरेष्ट, सानिमा जीआइसी, एनएलजी, युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पूँजी पुगेको छैन ।
जगेडा कोषमा राष्ट्रिय बीमा कम्पनी बलियो
१४ निर्जीवन बीमा कम्पनीमध्ये जगेडा कोषका आधारमा राष्ट्रिय बीमा कम्पनी सबैभन्दा बलियो छ । असारसम्म यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ७७ करोड रुपैयाँ संचित छ ।
त्यस्तै, सगरमाथा लुम्बिनीको ९१ करोड, सिद्धार्थ प्रिमियरको ८९ करोड, युनाइटेड अजोडको ६० करोड रुपैयाँ संचित छ । यस अवधिमा नेशनल इन्स्योरेन्सको जगेडा कोष ५३ करोड ऋणात्मक छ ।
प्रतिसेयर आम्दानी राष्ट्रिय बीमाको धेरै
समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै २८९.७३ रुपैयाँ छ । यस्तै, नेकोको २७.४९ रुपैयाँ, नेपाल इन्स्योरेन्सको २६.७६, सगरमाथा लुम्बिनीको २५.४८ रुपैयाँ छ भने युनाइटेडको सबैभन्दा कम १०.६१ रुपैयाँ मात्र छ ।
नेटवर्थमा पनि राष्ट्रिय बीमा नै अघि
प्रतिसेयर नेटवर्थका आधारमा पनि सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी नै अघि छ । समीक्षा अवधिमा यसको प्रतिसेयर नेटवर्थ १५१४.४७ रुपैयाँ छ । त्यसैगरी, सगरमाथा लुम्बिनीको २२८.२९ रुपैयाँ, सिद्धार्थ प्रिमियरको २२५.९१ रुपैयाँ, नेकोको २१०.७९ रुपैयाँ र एनएलजीको २०९.५ रुपैयाँ छ । यस अवधिमा सबैभन्दा कम सानिमा जीआइसीको १३९.६५ रुपैयाँ मात्रै छ ।