काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार कार्य सुरक्षित तरिकाले गर्न निर्देशन दिइएको छ । लगातार दुई दिन दुई युवाले ज्यान गुमाएपछि उक्त निर्देशन दिइएको हो ।
निर्माणाधीन राजमार्गअन्तर्गत गत साउन ३० गते भैँसेपाटी सडकखण्डमा धुलिखेल नगरपालिका-८ का २१ वर्षीय अभिषेक न्यौपानेको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । यस्तै गत साउन ३१ गते धुलिखेलको बाँसघारी नजिकै मिरावेल चोकमा प्यूठान घर भई बनेपामा लघुवित्तमा कार्यरत २७ वर्षीय सुरज गिरीको निधन भएको थियो । दुवै जनाले चलाएका मोटरसाइकल निर्माणाधीन क्षेत्रमा ट्रक र मिनीट्रकसित ठोक्किएका थिए ।
बिहीबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राजमार्ग विस्तार गर्दा दुर्घटना नहुने किसिमले काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल १५.५ किलोमिटर सडकखण्ड सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक ४ लेन बनाउने काम भइरहेको छ ।
उक्त आयोजनाका इन्जिनियर जङ्गबहादुर महर्जनले सडक दुर्घटना हुन नदिन नियमित अनुगमन गर्न थालिएको बताए । ‘सडकका खाल्डाखुल्डी तत्काल पुर्न, ट्राफिक चिह्नलाई सही स्थानमा राख्न तथा निर्माण सामग्रीलाई सडक अवरोध नहुने गरी राख्न व्यवसायीलाई निर्देशन दिएका छौँ,’ उनले भने । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि उक्त सडकखण्ड विस्तार थालिएको हो ।
राजमार्गअन्तर्गत पहिलो चरणमा साँगाबाट धुलिखेलसम्म ८.४ किमी सडकखण्ड विस्तारका लागि रु ४ अर्ब ५ करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड ७.५ किमी विस्तारका लागि रु ३ अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भई काम सुरु भएको हो । रासस