जहाज चार्टर्ड गरेर एकैपटक ७०० बङ्गलादेशी पर्यटक नेपाल आउँदै

काठमाडौं । बङ्गलादेशबाट ७०० पर्यटक नेपाल आउने भएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए ।

नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो ।

राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे। एउटै कम्पनीमार्फत ठूलो समूहमा बङ्गलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो ।

नेपालबाट नजिक दूरीमा रहेको बङ्गलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो । ठूलो सङ्ख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे।

कोभिड–१९ पूर्व र कोभिड अवधिमा पनि उल्लेख्य सङ्ख्यामा बङ्गलादेशी पर्यटक नेपाल आएका थिए । बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को ७ महिनामा बङ्गलादेशबाट १३ हजार ६२४ पर्यटक नेपाल आएका थिए । जुलाई महिनामात्रै दुई हजार ६९४ बङ्गलादेशी पर्यटक नेपाल आएका छन् । जुनमा २ हजार ४०२, अप्रिलमा २ हजार २१७, मार्चमा २ हजार ४६६, फेब्रुअरीमा १ जहार ९०७ र जनवरीमा २ हजार चार ६८ बङ्गलादेशी पर्यटक नेपाल आएका तथ्याङ्क छ ।

यसअघि सन् २०२२ मा बङ्गलादेशबाट २५ हजार तीन सय ८४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । बोर्डका अनुसार सन् २०२३ को सात महिनामा कुल ५ लाख ३४ हजार २०७ विदेशी पर्यटक भित्रिएका छन् ।

अरनिको राजमार्गमा दुर्घटना बढ्दो, राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन Read Previous

अरनिको राजमार्गमा दुर्घटना बढ्दो, राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन

ठूला जलाशययुक्त आयोजना निर्माणमा केन्द्रित हुँदै प्राधिकरण, यी आयोजना प्राथमिकतामा Read Next

ठूला जलाशययुक्त आयोजना निर्माणमा केन्द्रित हुँदै प्राधिकरण, यी आयोजना प्राथमिकतामा