काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको खुद नाफा दोब्बरले बढेको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आव २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १००.८० प्रतिशतले बढेको छ ।
गत असार मसान्तसम्म कम्पनीले ३८ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १९ करोड २१ लाख रुपैयाँ धेरै हो । अघिल्लो वर्ष कम्पनीले १९ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पछिल्लो समय पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार आएसँगै कम्पनीको आम्दानी बढ्दा नाफामा उच्च वृद्धि आएको हो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८४.९८ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको संचालन नाफा दोब्बरले बढेर १ अर्ब ३८ रुपैयाँ पुगेको छ ।
हाल १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ६५ करोड ७७ लाख रुपैयाँ संचित छ ।
नाफामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी दोब्बरले बढेको छ । अघिल्लो वर्ष १०.१० रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २०.२८ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १३४.८६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३८.९७ गुणा छ ।